आयोगले राष्ट्रपतिसमक्ष बुझायो प्रतिनिधिसभामा निर्वाचित सदस्यको विवरण

आयोगले राष्ट्रपतिसमक्ष बुझायो प्रतिनिधिसभामा निर्वाचित सदस्यको विवरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- निर्वाचन आयोगले मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।

बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अधिकारीहरूले राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएका हुन् ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम बुधबार घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको थियो । आयोगले नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ ।

यसैगरी आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ । आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदनअनुसार प्रतिनिधिसभातर्फ दुई सय ७५ र प्रदेशसभातर्फ पाँच सय ५० जना गरी कूल आठ सय २५ जना निर्वाचित भएका छन् ।