विदेशमा बस्ने नेपालीले पनि मतदान गर्न पाउने कानून बनाइँदै, मतपत्रमा ‘नो भोट’


काठमाण्डु – निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीले पनि मतदान गर्न पाउने गरी कानूनको मस्यौदा बनाएको छ ।

निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत विधेयकको मस्यौदाबारे सोमबार जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपालीले कूटनीतिक नियोगको सहयोगमा समानुपातिकतर्फ मत व्यक्त गर्न पाउने व्यवस्था आयोगले प्रस्ताव गरेको छ ।

आयोगले आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर खटिएका अस्थायी मतदातालाई समानुपातिकतर्फ निर्वाचनको अघिल्लो दिन नै मत दिन पाउने सुविधा दिने प्रस्ताव पनि मस्यौदामा गरेको छ । आयोगले ‘निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ तयार गरेर छलफल अगाडि बढाएको छ ।

निर्वाचनमा मतदाताले कुनै पनि उम्मेदवारलाई मत दिन्न भन्ने विकल्प (नो भोट) पनि मतपत्रमा समावेश गर्न प्रस्ताव गरेको छ । कूल खसेको मतको आधाभन्दा बढी मत ‘नो भोट’ भएमा निर्वाचन रद्द हुने र ती उम्मेदवारहरु दोहोर्‍याएर प्रतिस्पर्धा गर्न नपाउने प्रस्ताव गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement