इलाम र बझाङमा मतदान सकियो, मतपेटिका संकलनलगत्तै गणना थालिने


काठमाण्डु – रिक्त प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि इलाम र बझाङमा शुक्रबार भएको मतदान सकिएको छ ।

मतदान सकिएकाले अब मतपेटिका संकलनलगत्तै मतगणना गर्ने तयारी थालिएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा र प्रदेशसभा सदस्यका लागि बझाङ १(१) मा शान्तिपूर्ण रूपमा मतदान सकिएको निर्वाचन आयोगले जनाएको छ ।

इलाममा ५७ प्रतिशत र बझाङमा ५३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट शुक्रबार साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी हुने र राति १० बजेभित्र मतपेटिका ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले जानकारी दिए ।

मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि राजनीतिक दल तथा उम्मेदवार सर्वपक्षीय सहमतिपछि मतगणना प्रारम्भ गरिने जनाइएको छ । उनले भने, ‘राति १० बजेभित्र मतपेटिका सङ्कलन गरिसक्ने योजना बनाएका छौं, मतपेटिका संकलन गरिसकेपछि सर्वपक्षीय बैठक बस्छौं । बैठकमा सहमति भएमा तत्काल मतगणना सुरू गर्नेछौं ।’

इलामको मतगणना इलाम नगरपालिका–७ गौतमबुद्ध सभागृहमा हुनेछ । उपनिर्वाचनमा १२ राजनीतिक दल र ७ स्वतन्त्रसहित १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

बझाङमा मतपेटिका संकलन गर्न समय लाग्ने भएकाले आईतबार मात्रै मतगणनको तयारी गरिएको छ । बझाङमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement