काठमाण्डु – अनेरास्ववियुको २४औं महाधिवेशनबाट नेतृत्व चयनको लागि बुधबार निर्वाचन हुँदैछ ।
निर्वाचन कमिटीका अनुसार उम्मेदवारको नाममाथि दाबी विरोध सकिएको छ । उम्मेदवारी फिर्ता लिन चाहनेका लागि अहिले उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।
दाबी विरोधमाथि छानबिन र उम्मेदवारी फिर्ता लिएपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ । त्यसपछि मतदानको प्रक्रिया अघि बढ्नेछ ।
विद्युतीय मशिनबाट मतदान हुने भएकाले मतदाताको अन्तिम नामावली निकालेपछि मशिनमा उम्मेदवारको नाम सेटिङ गर्नुपर्ने भएकाले राति १० बजेअघि मतदान सुरु गर्न नसकिने निर्वाचन कमिटीले जनाएको छ ।
राति अबेरै भए पनि राति नै मतदानको काम सक्ने तयारीमा अध्यक्ष मण्डल छ । ‘राति अबेर गरी भए पनि आजै मतदान सक्ने योजना छ,’ अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले भने ।
अनेरास्ववियुको अध्यक्षका लागि डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । २ उपाध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ । खुल्ला उपाध्यक्षतर्फ भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसी र रोहित बमको उम्मेदवारी परेको छ ।
महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईंको उम्मेदवारी परेको छ ।
महासचिवमा दीपक धामी, आरके रोमस, र सुनिल कँडेलको उम्मेदवारी परेको छ । उपमहासचिव पदमा अमर शाही, कमल जोशी र प्रेमिका शाहीको उम्मेदवारी परेको छ ।
सचिवका लागि ३६ जनाको उम्मेदवारी परेको छ । महाधिवेशनमा १ हजार ५३४ प्रतिनिधि छन् । १५१ पदका लागि ५२१ जनाले मनोनयन दर्ता गरेका छन् ।
अधिवेशनको हलले १५१ सदस्सीय केन्द्रीय कमिटी, ९ जना पदाधिकारी र ३२ वर्षे उमेर हदलाई अनुमोदन गरिसकेको छ ।
यसअघिका आयोगमा एउटा आयोग थप गरी अनुशासन, लेखा र नीति तथा अनुगमन आयोग बनाइने भएको छ । नीति तथा अनुगमन आयोग महाधिवेशनबाट थप भएको छ । आयोग पदाधिकारीसहित १३ सदस्यीय हुनेछ । जसमा प्रमुख, उपप्रमुख र सचिव पदाधिकारी हुनेछन् ।
अनेरास्ववियुको सचिवालय ४९ सदस्सीय हुने भएको छ । सचिवालय सदस्य पनि हलले नै चुन्ने भएको छ । केन्द्रीय सदस्य प्रदेश क्लष्टरबाट चुनिनेछन् ।
प्रतिक्रिया