मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध

मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन सम्बन्धित मतदातालाई आफ्नो विवरण जाँच गरी आवश्यक भए सच्याउन अनुरोध गरेको छ ।

आयोगका अनुसार मौजुदा मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि २०८३ असोज १ गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन गरिनेछ ।

नामावलीमा रहेका विवरण यथार्थ र अद्यावधिक बनाउन सम्बन्धित मतदाताको समेत महत्वपूर्ण भूमिका रहने आयोगले जनाएको छ ।

आयोगले मतदाता नामावलीमा आफ्नो नाम, थर, उमेर, ठेगाना लगायतका विवरणमा त्रुटि भएमा सच्याउन निवेदन दिन आग्रह गरेको छ । कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भएमा समेत सम्बन्धित निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले अनुरोध गरेको छ ।

कुनै मतदाताको नाम १ भन्दा बढी स्थानमा समावेश भएको भए १ स्थानमा मात्र कायम गर्न तथा बसाइँसराइँ वा विवाहका कारण स्थायी ठेगाना परिवर्तन भएको भए सोहीअनुसार मतदाता नामावलीमा ठेगाना अद्यावधिक गर्न पनि आयोगले आग्रह गरेको छ ।

मतदाताले आवश्यक सूचनासहित सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछन् । आयोगले उपलब्ध गराएको अनलाइन प्रणालीमार्फत पनि विवरण सच्याउन वा अद्यावधिक गर्न सकिने जनाएको छ ।

मतदाता नामावलीको शुद्धता र नियमित अद्यावधिकता स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि महत्वपूर्ण आधार भएको आयोगले जनाएको छ ।  नामावलीमा रहेका त्रुटि, दोहोरो नाम वा अन्य गलत विवरण सच्याउन सबै नागरिकबाट सहयोग प्राप्त हुने विश्वास समेत आयोगले व्यक्त गरेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा प्रेस विज्ञप्तिमा उल्लेख छ ।