अनुकूल समय मिलाई मनोनयन दर्ता गर्न उम्मेदवारलाई आयोगको अपिल


काठमाण्डु- निर्वाचन आयोगले दुई दिनको समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ आफ्नो मनोनयन दर्ता गर्न आग्रह गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको हो ।

बैशाख ११ र १२ गते १० देखि ५ बजेसम्म उम्मेदवार दर्ता गर्न सकिने छ । स्थानीय तह सदस्य निर्वाचनका लागि वैशाख ११ गते र १२ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी कतिपय स्थानमा राजनीतिक दलका उम्मेदवारलाई गोला प्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएको भन्ने सूचना आयोगमा प्राप्त भएको हुँदा यस विषयमा गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

‘अतः आयोगले उपलब्ध गराएको मनोनयन दर्ताको समयमा मनोनयन दर्ता कार्यलाई सुव्यवस्थित र शान्तिपूर्ण ढंगले सम्पादन हुने गरी सहयोग र्पुयाउन हुन तथा कानून बमोजिमको योग्यता पुगेका सबै नागरिकको स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार बन्न पाउने नैसर्गिक अधिकार माथि कहि कतैबाट कुनै अवरोध आउन नदिन र निर्धारित दुई दिन मध्ये कुनै दिन दल वा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता हुन आएको खण्डमा सोही दिन उम्मेदवारको मनोनयन दर्ता गर्ने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराइन्छ ।’, आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement