जसपा विवाद : निर्वाचन आयोगले कार्यकारिणी समितिका ५१ जनालाई सनाखतका लागी बोलायो


काठमाण्डु – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को दुबै पक्षलाई साउन ११ गते केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुसहित आउन आदेश दिएको छ ।

बिहीबार बसेको इजलासले आधिकारिकता विवाद टुंगो लगाउन तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच पार्टी एकतापछि बनेको ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको हो ।

दलको आधिकारिता विवाद गर्ने प्रयोजनका लागि कार्यकारिणी सदस्यलाई स्वयं उपस्थीत हुन भनिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार इजलासबाट दल एकता हुँदा बुझाइएको कार्यकारीणी सदस्यहरुलाई परिचय खुल्ने कागजातसहित आयोगमा उपस्थित हुन आदेश भएको छ ।

तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणपछि बनेको जसपा नेपालमा ५१ कार्यकारिणी समिति बनाइएको थियो । तर, महन्थ ठाकुर पक्षले गत पुस ७ गतेको बैठकले आफूलाई अधिकार दिएको भन्दै कार्यकारिणी समितिमा हेरफेर गरेका थिए ।

५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षले आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ । यादव पक्षले कार्यकारिणी समितिमा आफ्ना पक्षका ३१ जना सदस्य रहेको दाबी गरेको छ । जसपको महन्त ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि जसपाभित्रको विवाद फुटको संघारमा पुगेको थियो । दुबै पक्षले पार्टी आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए । जसपाको विवाद अहिले निर्वाचन आयोगमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement