आचारसंहिताको बर्खिलाप मन्त्रिपरिषद् विस्तारः आयोगले दियो यस्तो चेतावनी


काठमाडौंः निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

 

 

निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार तीन मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिमण्डल सदस्यको संख्या ५४ पुर्याएपछि आयोगले सरकारको ध्यानाकर्षण गराएको हो।

 

निर्वाचन आचारसंहिता लागू भइरहेको र सरकारलाई त्यसको पालना गर्न÷गराउन सातबुँदे निर्देशन दिइसकिएको अवस्थामा निर्देशन विपरीत मन्त्रिपरिषद्को विस्तार गरेको भनी उसले असन्तोष व्यक्त गरेको छ।

 

आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गरी मन्त्रिपरिषद् विस्तारले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने जनाउँदै त्यस किसिमको कार्य नगर्न÷नगराउन सरकारसँग आग्रह गरेको छ।

 

 

निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा तीन मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी आयोगको निर्देशन विपरीत मन्त्रिपरिषद् विस्तार भएको आयोगको ठहर छ।
‘स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन सरकारले समेत सोही मनशाय राखी आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तार कार्यले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्ने सक्ने हुँदा यस किसिमको कार्य नगर्न÷नगराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ।

 

 

आयोगले सरकारलाई आफ्नो स्वामित्वमा रहेका वा सरकारी कोष वा सर्वसञ्चित कोषबाट खर्च हुने वा बजेट प्राप्त हुने वा सरकारबाट कुनै सुविधा हुने पद वा निकायमा कुनै पनि राजनीतिक नियुक्ति नगर्न सातबुँदे निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement