मंसिरमा निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी


काठमाण्डु — सरकारले आगामी मंसिरमा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । आगामी साता बस्ने मन्त्रिपरिषदको बैठकले संघ र प्रदेशको निर्वाचनको मिति मंसिर ४ मै घोषणा गर्ने तयारी रहेको स्रोतले बतायो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच चुनावको मिति घोषणाबारे छलफल भएपनि अहिलेसम्म सरकारले मिति भने घोषणा गर्न सकेको छैन् । माओवादी केन्द्रका अध्यक्ष दाहालले नागरिकता विद्येयक पारित भइसकेपछी मात्र मिति घोषणा गर्न प्रधानमन्त्रीलाई सुझाएको बताएका थिए ।

निर्वाचनको मिति घोषणा गर्ने तयारी भएसंगै गृहमन्त्री बालकृष्ण खांडको समेत सक्रियता बढेको छ । गृहमन्त्रालयले प्रहरी र प्रमुख जिल्ला अधिकारीको सरुवाको तयारी गरिरहेको छ । त्यसका लागि प्रभावशाली नेताका जिल्लामा अनुकुल अधिकारी पठाउने तयारी छ ।

सत्तारुढ दलभित्र निर्वाचनको मिति तोक्ने विषयमा अहिले तिव्र छलफल भइरहेको छ । प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीहरुसंग समेत निर्वाचनको तयारीका बारेमा छलफल गरिरहेका छन् । आयोगले मंसिर २ मा चुनावको मिति प्रस्ताव गरेको थियो ।

सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले चुनावको मिति तोक्नेबारे छलफल भइरहेको जानकारी दिए । उनले अहिले नै निर्णय भने भइनसकेको बताए ।

निर्वाचन आयोगले समेत निर्वाचनका लागि १ सय २० दिन आवश्यक पर्ने बताउंदै आएको छ । आयोगले मंसिर १० भन्दा पछाडी हिमाली जिल्ला निर्वाचन गर्न सम्भव नहुने जानकारी सरकारलाई दिइसकेको छ ।

सत्तारुढ दलका केही नेताहरुले भने निर्वाचन फागुनमा गर्ने विषयमा समेत छलफल चलाइरहेका छन् । तर, नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने प्रदेश र संघको निर्वाचन आगामी मंसिर ४ मा हुने दावी गर्छन् । ‘सरकारले केही दिनमा निर्वाचनको मिति घोषणा गर्छ । अहिलेसम्म हेर्दा मंसिर ४ मा नै चुनाव गर्ने लगभग पक्कापक्की छ ।’ महतले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement