चुनावका लागि हतियार अभाव, सेनाको आशमा सुरक्षाको चाँजो मिलाउँदै प्रहरी


काठमाण्डु – नेपाल प्रहरीले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाबारे सरकारलाई आवश्यक जानकारी गराएको छ ।

प्रहरी प्रधान कार्यालयले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि आवश्यक हतियार र सुरक्षाकर्मीबारे औपचारिक जानकारी गराएको हो ।

प्रहरी स्रोतका अनुसार हेडक्वार्टरले आफूसँग हतियार र सुरक्षाकर्मी अपुग रहेको औपचारिक जानकारी गराएको हो । प्रहरी स्रोतले भन्यो, ‘सरकारसँग एक लाख २० हजार म्यादी र निर्वाचन सुरक्षाका लागि २६ सय हतियार अपुग रहेको जानकारी गराइएको छ ।’

गत स्थानीय निर्वाचनमा प्रहरीको मागबमोजिम एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । तर, हतियार भने प्रहरीले नेपाली सेनासँग १ हजार थान पिस्तोल सापटी मागेर काम चलाएको थियो ।

अहिले चुनावका लागि थप २६ सय हतियार आवश्यक रहेको प्रहरीले जनाएको छ । त्यसका लागि यो पटक पनि प्रहरीले सेनाँग हतियार माग गरेको बताइएको छ ।

संघ र प्रदेशको चुनावमा एकै चरणमा गनुपर्ने र मतदानस्थल र मतपेटिका पनि स्थानीय तहको भन्दा बढी हुने भएकाले सुरक्षाकर्मीका साथै हतियार पनि यो पटक बढी चाहिने केन्द्रीय निर्वाचन सेलले उल्लेख गरेको छ।

सेनाले माग अनुसार नै हतियार उपलब्ध गराएको अवस्थामा चुनावी सुरक्षाका लागि पेस्तोलको उपलब्धता पर्याप्त हुने प्रहरीले जनाएको छ ।

प्रहरीले चुनावी प्रयोजनका लागि भन्दै ३ अर्ब ४७ करोड ३५ लाख बजेट माग गरेको छ । बजेटको धेरै हिस्सा गाडी खरिद र भाडामा लिन प्रयोग हुने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रहरीले स्थानीय तहको निर्वाचनका बेला पनि सवारी साधन आवश्यक रहेको भन्दै खरिदका लागि बजेट माग गरेका थियो । त्यतिबेला अर्थले सवारी साधन खरिदका रकम निकासा नगरेपछि प्रहरीले भाडामा सवारी साधन प्रयोग गरेको थियो ।

अहिले फेरि मंसिर ४ गते हुने प्रदेश र संघको चुनावलाई लक्षित गर्दै सवारी साधन आवश्यक रहेको भन्दै बजेट माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement