चुनावमा खटिने सुरक्षाकर्मीलाई हतियार अभाव, प्रहरीले सेनासँग माग्यो दुई हजार थान पेस्तोल


काठमाण्डु – नेपाल प्रहरीले नेपाली सेनासँग २ हजार थान हतियार माग गरेको छ । स्थानीय तह निर्वाचनमा खटिने कमाण्डरहरुका लागि हतियार अभाव भएपछि प्रहरीले चुनावपछि फिर्ता गर्ने गरी सेनासँग सापटी स्वरूप २ हजार थान साना हतियार मागिएकाे प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले जानकारी दिए ।

आइतबार नेपाली सेनाले प्रहरीलाई करिब एक हजार थान चिनियाँ पेस्तोल उपलब्ध गराएको छ । निर्वाचन सुरक्षाका लागि हरेक मतदान स्थलभित्र नेपाल प्रहरीका जुनियर अफिसर (सहायक निरीक्षक, नायब निरीक्षक र वरिष्ठ नायब निरीक्षक) को कमान्डमा म्यादी प्रहरीसहित सुरक्षाकर्मी परिचालन हुन्छन् । कमान्डरले पेस्तोल बोक्छन् भने अन्य प्रहरीले लामा हतियार बोक्नेछन् ।

केही समयअघि नेपाली सेनाले आफूले प्रयोग गरेका पुराना लामा हतियार नेपाल प्रहरीलाई निःशुल्क प्रदान गरेको थियो । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि देशभर रहेका १० हजार ७ सय ५६ मतदान स्थलमा त्यति नै संख्यामा प्रहरीका सुरक्षा कमान्डर हुन्छन् ।

मतदान स्थलको सुरक्षाका लागि सुरक्षा संवेदनशीलताअनुसार मतदान स्थललाई तीन वर्गमा बाँडिएको छ । अति संवेदनशील मतदान स्थलमा कम्तीमा ३ प्रहरी र ८ म्यादीसहित ११ जना सुरक्षाकर्मी खटिने छन् । ती सबै प्रहरीसँग हतियार हुने छ ।

संवेदनशील मतदान स्थलमा कम्तीमा ३ जना प्रहरी र ६ जना म्यादीसहित ९ जना रहनेछन् भने कम संवेदनशील मतदान स्थलमा कम्तीमा ३ जना प्रहरी र ५ जना म्यादीसहित ८ जना सुरक्षाकर्मी रहनेछन् ।

प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षाका लागि जनशक्ति परिचालन भइसकेको जनाएको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार ६१ हजार ८ सय ३१ जना प्रहरीलाई निर्वाचन केन्द्रित परिचालन गरिएको छ ।

उनीहरू मतदान स्थलको सुरक्षा, मोबाइल टोली, रिजर्भ टोली, उम्मेदवार सुरक्षा, सूचना संकलन र निर्वाचन सेलका रूपमा खटिएका खटिने छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement