निर्वाचन सुरक्षा : सेना र सशस्त्रसहित झण्डै तीन लाख प्रहरी परिचालन गरिने


काठमाण्डु – सरकारले मंसिर ४ गते हुने निर्वाचनमा झण्डै तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

केन्द्रीय सुरक्षा समितिको आइतबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि २ लाख ९६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।

समितिले स्वीकृत गरेको ‘एकीकृत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना’ अनुसार निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी, ३५ हजार सशस्त्र प्रहरी, ७१ हजार नेपाल प्रहरी र ७५ हजार सैनिक परिचालित हुनेछन् ।

गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले सुरक्षा निकायलाई ३ तहको सुरक्षा घेरामा परिचालन गर्ने निर्णय गरिएको जानकारी दिए ।

समितिको निर्णयअनुसार निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले स्वीकृति दिनुपर्छ । राष्ट्रपतिले सेना परिचालन गर्ने निर्णय गरेपछि एकीकृत सुरक्षा योजनाअनुसार जिल्ला सुरक्षा समितिले जिल्लामा अन्तिम तहको सुरक्षा घेरामा सेनालाई परिचालन गर्नसक्ने कानुनी व्यवस्था छ ।

एकीकृत सुरक्षा योजनाअनुसार पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा सेना रहने निर्णय गरिएको छ । सुरक्षा संवेदनशीलताको आधारमा मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी ३ तहमा वर्गीकरण गरिएको छ ।

त्यस्तै सामान्य मतदान स्थलमा ३ प्रहरी ५ म्यादी, संवेदनशीलमा ३ प्रहरी ६ म्यादी र अति संवेदनशीलमा ३ प्रहरी र ९ जना म्यादी प्रहरीलाई खटाउने निर्णय गरिएको छ ।

निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागि ठूला हतियारको समस्या छैन । तर, साना हतियार करिब २५ सय अपुग हुने प्रहरीले जनाएको छ । अपुग हतियार सेनासँग सापटी लिई प्रयोग गर्ने प्रहरीले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement