काठमाण्डु- टेस्लाका प्रमुख कार्यकारी इलोन मस्कले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्थापना गरेको खर्च कटौतीसम्बन्धी निकाय डिपार्टमन्ट अफ गभर्मन्ट इफिशन्सी (डीओजीई)को जिम्मेवारीबाट आफूले राजीनामा दिने बताएका छन् ।
राष्ट्रपति ट्रम्पसहित ह्वाइट हाउसका अधिकारीहरूले पनि मस्कले छिट्टै उक्त जिम्मेवारी छोड्ने धेरै अघिदेखिको योजना रहेको बताएका छन् ।
मस्कले राजीनामा दिने बताएपछि उनले सम्हाल्दै आएको डीओजीईको भविष्य के हुने चासो पनि बढेको छ ।
राष्ट्रपति ट्रम्पले पनि मस्कलाई बिदाइ गर्ने तयारी गरिरहेको जनाएका छन् । मस्कलाई सरकारको विशेष कर्मचारीको दर्जा दिइएको थियो । उक्त पदको कर्मचारीका हैसियतमा उनले तलबी वा बेतलबी रूपमा प्रत्येक वर्ष १३० दिन सरकारी काम गर्न पाउँछन् ।
मस्कले डीओजीईका लागि एक सातामा पाँच दिन काम गरेको मान्ने हो भने जनवरी २० मा ट्रम्पको पदभार ग्रहण भएको दिनबाट हिसाब १३० दिनको सेवावधि मई महिनाको अन्त्यमा सकिन्छ । मस्कले आफूले सप्ताहान्तमा पनि काम गर्ने दाबी गर्दै आएका छन् ।
मस्क बाहिरिए पनि डीओजीईका झन्डै १०० कर्मचारीहरू सरकारका विभिन्न निकायमा रहने विवरण छन् । ट्रम्पको पदबहालीका क्रममा कार्यकारी आदेशबाट डीओजीईको स्थापना गर्दा उल्लेख भएअनुसार यसको अन्तिम कार्यकाल सन् २०२६ को जुलाई ४ सम्म छ । तर मस्कले आफूले ट्रम्प प्रशासन छोड्ने समयसीमाबारे केही पनि बताएका छैनन् ।
टेस्लाको नाफा ७१ प्रतिशतले घटेसँगै आर्थिक समस्या भएको विवरण आएसँगै मस्कले डीओजीईबाट बाहिरिने घोषणा गरेका थिए ।
मस्कले ट्रम्प प्रशासनमा गरेका कामलाई लिएर विश्वभरि नै टेस्लाका कार बहिष्कार गर्ने अभियान र विरोधप्रदर्शन सुरु भएपछि टेस्लाको नाफामा ठूलो गिरावट आएको थियो । आयोजकहरूले अधिकांश प्रदर्शन शान्तिपूर्ण भएको दाबी गरे पनि केही स्थानमा टेस्लाका शोरूम र चार्जिङ स्टेशनमा आगजनी पनि गरिएको थियो ।
कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई अझै लामो समयसम्म नाफामा देखिएको गिरावट जारी रहन सक्ने भन्दै सचेत गराएको छ ।
मस्कले पनि आफ्ना लगानीकर्ताहरूलाई आफूले डीओजीईमा दिएको समय उल्लेख्य मात्रामा घटाउने र टेस्लाका लागि धेरै समय दिने बताएका थिए ।
उनको यस्तो प्रतिक्रियापछि टेस्लाको घट्दो शेअर मूल्य केही बढेको थियो । मस्कले ट्रम्प प्रशासनका लागि अहिलेसम्म कति दिन काम गरे भन्ने स्पष्ट छैन । त्यस्तै सरकारले उनको कामको हिसाब कसरी राखेको छ र १३० दिनको समयसीमा कसरी लागु हुन्छ भन्नेमा स्पष्टता छैन ।
यसअघि पनि मस्कलाई अभूतपूर्व जिम्मेवारी दिने क्रममा ट्रम्प प्रशासनले नियम उल्लङ्घन गरेको भन्दै आलोचना भएको थियो । त्यससँगै उनले उक्त जिम्मेवारीमा पालना गर्नुपर्ने समयसीमा पनि पालना नगर्ने चिन्ता व्यक्त भएका छन्।
किनभने सरकारको विशेष कर्मचारी बन्न मस्कले आचारसंहिताको तालिम लिनुपथ्र्यो, आफ्नो सम्पत्तिको गोप्य विवरण सरकारलाई उपलब्ध गराउनुपथ्र्यो र स्वार्थ बाझिने खालका कामबाट अलग रहनुपथ्र्यो । तर उनले त्यसो केही गरेनन् ।
मस्कको व्यवसायिक साम्राज्य निकै ठूलो छ र त्यसमध्ये धेरैले अमेरिकी सरकार र विदेशी सरकारसँग पनि व्यापारिक साझेदारी गरेका छन् ।
उदाहरणका लागि मस्कको स्पेसएक्सका प्रमुख कार्यकारीका अनुसार उक्त कम्पनीले अमेरिकी सरकारसँग २२ अर्ब अमेरिकी डलरको करार गरेको छ ।
सरकारी नियमानुसार मस्कजस्तो विशेष कर्मचारीले राजनीतिक गतिविधिमा सहभागी हुन पाउँदैनन् । कार्यालयमा रहेका समयमा वा काममा रहेका समयमा राजनीतिक नारा भएका कपडा लगाउन पनि बन्देज छ ।
तर मस्कले ओभल अफिसमा ‘मेक अमेरिका ग्रेट अगेन’ लेखिएको टोपी लगाएको तस्बिर सार्वजनिक भएको थियो ।
अहिले मस्कले राष्ट्रपति ट्रम्पका लागि काम गरिरहेका कारण उनको कामको निगरानी गर्ने ट्रम्प आफूबाहेक कोही पनि छैन ।
पब्लिक सिटिजन नामक प्रगतिशील थिंक ट्यांकले गत साता सार्वजनिक गरेको एउटा प्रतिवेदनअनुसार ह्वाइट हाउसले विशेष सरकारी कर्मचारीको नियम व्यापक मात्रामा दुरुपयोग गरेको भन्दै ट्रम्प प्रशासनको आलोचना भएको छ ।
‘अहिले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगर्ने मस्कजस्ता विशेष सरकारी कर्मचारीले जनताको हितभन्दा आफ्नो स्वार्थमा केन्द्रित भएका छन् वा छैनन् भनेर निगरानी गर्ने संयन्त्र छैन’, प्रतिवेदनमा भनिएको छ ।
प्रतिक्रिया