वातावरण बिगार्नेलाई ५० लाखसम्म जरिवाना !


काठमाडौं – ख्याल गरौँ है अब वातावरण प्रदूषित गरेमा ५० लाख रुपियाँसम्म जरिवाना तिर्नुपर्नेछ । सरकारले हालै ल्याएको वातावरण संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उक्त जरिवाना प्रस्ताव गरिएको छ ।

उक्त विधेयकअनुसार सरकारले राजपत्रमा सूचना प्रकाशित गरी वातावरण संरक्षणको दृष्टिले पूर्वसावधानी अपनाउनुपर्ने भएमा आवश्यक आदेश जारी गर्न सक्नेछ । संक्षिप्त वातावरण अध्ययन प्रतिवेदन स्वीकृत गराउनुपर्ने प्रस्तावको हकमा त्यस्तो प्रतिवेदन स्वीकृत नगराई वा स्वीकृत प्रतिवेदनको विपरीत हुने गरी कुनै प्रस्ताव कार्यान्वयन गरेमा ५ लाख रुपियाँसम्म जरिवाना हुन सक्नेछ ।
यस्तै प्रारम्भिक प्रतिवेदन परीक्षण प्रतिवेदन स्वीकृत नगराई वा स्वीकृत प्रतिवेदनको विपरीत हुने गरी कुनै प्रस्ताव कार्यान्वयन गरेमा १० लाख रुपियाँसम्म जरिवाना हुन सक्नेछ ।

वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गराउनुपर्ने प्रस्तावको हकमा त्यस्तो प्रतिवेदन स्वीकृत नगराई वा स्वीकृत प्रतिवेदनको विपरीत हुने गरी कुनै प्रस्ताव कार्यान्वयन गरेमा ५० लाख रुपियाँसम्म जरिवाना हुने उक्त विधेयकमा उल्लेख छ ।

दिनहुँ वातावरण बिग्रँदै गएकाले जनजीवनमा ठूलो असर परेको भन्दै सरकारले ऐन नै बनाउन लागेको हो । उक्ते विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरिसकिएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँले स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको मौलिक अधिकारको संरक्षण गर्न, वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट क्षतिपूर्ति उपलब्ध गराउन विधेयक ल्याउनुपरेको बताउनुभयो ।यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement