राहदानी उत्पादनमा छलाङ, एकैदिन ५ हजार ८७८ ई–पासपोर्ट छापियो

राहदानी उत्पादनमा छलाङ, एकैदिन ५ हजार ८७८ ई–पासपोर्ट छापियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य वृद्धि गरेको छ ।

विभागले साउन २५ गते एकैदिन ५ हजार ८७८ वटा विद्युतीय राहदानी छाप्न सफल भएको जनाएको छ ।

विद्युतीय राहदानीको बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै आएको विभागले पछिल्लो समय दैनिक ५ हजारभन्दा बढी राहदानी उत्पादन गर्न थालेको हो । यसअघि विभागको उत्पादन क्षमता दैनिक करिब १ हजार ५०० राहदानी रहेको थियो ।

विभागले नेपाली नागरिकलाई सहज, सरल, छिटो, सुरक्षित तथा प्रभावकारी रूपमा विद्युतीय राहदानी उपलब्ध गराउने उद्देश्यले सेवा प्रणाली र राहदानी उत्पादन क्षमतामा निरन्तर सुधार गर्दै आएको छ । विभागका अनुसार बढ्दो मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता विस्तार गरिएको र सेवाग्राहीलाई समयमै राहदानी उपलब्ध गराउन क्षमता थप वृद्धि गर्ने कार्य भइरहेको छ ।

विद्युतीय राहदानी सेवा काठमाण्डुमा मात्र सीमित नरहेको तथा देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा विभिन्न इलाका प्रशासन कार्यालयबाट समेत राहदानीसम्बन्धी सेवा उपलब्ध हुँदै आएको छ । विदेशमा रहेका नेपाली नागरिकले विदेशस्थित नेपाली नियोगमार्फत पनि विद्युतीय राहदानी सेवा लिन सक्ने व्यवस्था रहेको विभागले जनाएको छ ।

बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न विभागले राहदानी उत्पादन तथा सेवा प्रवाहको क्षमता विस्तार गर्नुका साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगसँग समन्वय गर्दै आएको जनाएको छ । पछिल्लो समय भने विभागले उत्पादन क्षमता उल्लेख्य रूपमा वृद्धि गर्दै एकैदिन ५ हजार ८७८ वटासम्म विद्युतीय राहदानी उत्पादन गर्न सक्ने अवस्थामा पुगेको जनाएको छ । विभागले यसलाई विद्युतीय राहदानी सेवाको क्षेत्रमा उल्लेखनीय प्रगतिको रूपमा लिएको छ ।

विभागले विद्युतीय राहदानी प्रणाली सञ्चालनका क्रममा देखिन सक्ने प्राविधिक समस्यालाई प्राथमिकताका साथ समाधान गर्दै आएको जनाएको छ । सेवा प्रवाहका क्रममा देखिएका प्राविधिक समस्या ३ महिनाभित्र प्रणालीलाई स्थिर बनाउने गरी आवश्यक प्राविधिक तथा व्यवस्थापकीय कार्य अघि बढाइएको विभागको भनाइ छ । सेवाग्राहीले राहदानी प्राप्त गर्न अनावश्यक कठिनाइ व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले प्रणालीको क्षमता, स्थायित्व र कार्यसम्पादन सुधारका लागि सम्बन्धित प्राविधिक पक्षसँग निरन्तर समन्वय भइरहेको विभागले जनाएको छ ।

प्राविधिक समस्या समाधान गर्दै विद्युतीय राहदानी सेवा थप सहज, भरपर्दो, सुरक्षित तथा प्रभावकारी बनाउनेतर्फ विभागले विशेष ध्यान केन्द्रित गरेको जनाएको छ ।