१९५० को सन्धिबारे इपिजीले प्रतिवेदन तयार पार्‍याे, नेपाल र भारतका प्रधानमन्त्रीलार्इ बुझाइने


काठमाडौं–प्रबुद्ध समूह (इपिजी) ले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि सहितका असमान सन्धि सम्झौता पुनरावलोकन तथा दुईपक्षीय विवादित विषयको अध्ययन गरेर सुझावका लागि अन्तिम प्रतिवेदन तयार पारेको छ।

काठमाडौंमा २ दिनसम्म बसेको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिँदै एक महिनाभित्र नेपाल र भारतका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने निर्णय गरेको छ।

सन् १९५० को सन्धिलाई दुवै देशको तर्फबाट गम्भीर रुपमा अध्ययन विश्लेषण गरि वास्तवकितामा आधारित भएर प्रतिवेदन तयार पारिएको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।  टोलीले आठौं बैठकलाई नै अन्तिम मानेको थियो। तर, केही बुँदामा सहमति हुन नसकेपछि नबौं बैठक डाकिएको थियो।

समाचार स्रोतका अनुुसार सन् १९५० को मैत्रीसन्धि पुनरावलोकन गर्न भारत तयार भएपछि साझा प्रतिवेदन तयार भएको हो। तर, प्रतिवेदनका भित्री विषयहरुलाई तत्काल बाहिर नल्याउने सहमति भएको छ।

प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि मात्र अन्य विषयहरु बाहिर छलफलमा आउने छ।

भारतका तर्फबाट प्रबुद्ध समूूह सदस्य महेन्द्र पी लामाले दुई देशबीचका असमान सन्धि सम्झौताको पुनरावलोकनको सुझाव सहितको प्रतिवेदनलाई अन्तिम रुप दिने काम भएको जानकारी दिएका छन।

दुई वर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा दुई वर्षको कार्यवधि सहित गठन गरिएको इपिजीको समय असार २० गते सकिदै छ।

प्रतिक्रिया दिनुहोस
Advertisement