काठमाण्डु– अमेरिकामा रहेर नेपाली साहित्यमा सक्रिय स्रष्टा नम्रता गुरागाईंको निबन्धसङ्ग्रह ‘भूगोलका सपनाहरू’ लोकार्पण गरिएको छ।
युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले शनिबार पद्मकन्या बहुमुखी क्याम्पसको डेनिस हलमा आयोजना गरेको विशेष समारोहमा भाषाविद् तथा निबन्धकार प्रा.डा. माधवप्रसाद पोखरेलसहित अतिथिहरूले कृति संयुक्त रूपमा लोकार्पण गरेका हुन्।
कृतिमाथि समालोचक डा. गीता त्रिपाठी र डा. फणीन्द्रराज निरौलाले परिचर्चा गरेका थिए। डा. त्रिपाठीले सङ्ग्रहका निबन्धमा कोमल अनुभूति, प्रतिरोधी चेतना, गहिरो भावनात्मकता र सरल भाषामा व्यक्त वैचारिकता पाइने बताइन्।
निबन्धमा आत्मपरक, आख्यानात्मक तथा संस्मरणात्मक शैलीमार्फत महिला जीवन, स्वास्थ्यचेतना र सामाजिक विषय उठाइएको उनले बताइन्।
डा. निरौलाले ‘भूगोलका सपनाहरू’मा २६ वटा निबन्ध समेटिएको र १९७ पृष्ठको कृति रहेको जानकारी दिए। उनका अनुसार विदेशमा बसेर भोगेका अनुभव, स्वदेशको स्मृति, परिवार, संस्कृति, प्रवासको जीवन, मानवीय संवेदना र जीवनदर्शन निबन्धका प्रमुख विषय हुन्।
प्रमुख अतिथि प्रा.डा. पोखरेलले कृतिले नेपाली अस्मिता भूगोलभन्दा बाहिर पुगे पनि नछुट्ने देखाएको बताए। विदेशमा भोगेको जीवन, पीडा र अनुभव निबन्धमा अभिव्यक्त भएको उल्लेख गर्दै उनले नेपाली भाषामा प्रकाशित पुस्तकलाई डिजिटाइज गर्नुपर्नेमा जोड दिए।
कृतिका स्रष्टा गुरागाईंले आफ्ना निबन्धमार्फत पाठकको मनसम्म पुग्न सकेँ कि सकिनँ भन्ने कौतूहल रहेको बताउँदै पाठकलाई कृति पढेर प्रतिक्रिया दिन आग्रह गरिन्।
कार्यक्रममा पूर्वमन्त्री शान्ता मानवी, पूर्वमन्त्री केशव बडाल, प्रा.डा. जीवेन्द्र देव गिरी, प्रा.डा. यादवप्रकाश लामिछाने, रामप्रसाद पन्त, अनिल पौडेललगायतले गुरागाईँलाई कृतिका लागि बधाइ तथा शुभकामना दिएका थिए।




प्रतिक्रिया