इथियोपिया विमान दुर्घटना :एक नेपाली युवतीको पनि मृत्यु


एजेन्सी – आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको छ ।

इथियोपियाको राजधानी एडिस अब्बासबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ मा सवार सबै यात्रु र चालक दलका सदस्यको ज्यान गएको हो । त्यसमध्ये एक नेपाली महिला एकता अधिकारीको ज्यान गएको हो । उनी इथियोपियाको राजधानी एडिस अब्बासमा रहेको विश्व खाख्य कार्यक्रम (डब्लुएफपी) मा कार्यरत थिइन् ।

उनी नैरोबीमा हुने डब्लुएफपीको एक बैठकका लागि जाँदै थिइन् । उनी सन् २०१८ को सेप्टेम्बरमा इथियोपिया गएकी हुन् । उनी नेपाल र पपुवा न्युगिनीसहित झण्डै चार वर्षदेखि डब्लुएफपीमा कार्यरत थिइन् ।इथियोपियन एयरलाइन्सको विमान राजधानी एडिस अब्बासबाट उडेको केही समयमै दुर्घटनामा परेको थियो । विमानमा १४९ यात्रु र चालक दलका ८ सदस्य थिए ।

प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन् । त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ-आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना रहेका थिए । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच तथा भारत र स्लोभाकियाका चार-चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ ।

विमान दुर्घटनामा परी अष्ट्रिया, रसिया र स्वीडेनका तीन–तीन जना, इजरायल, मोरोक्को पोल्याण्ड र स्पेनका दुई–दुई जना रहेका छन् भने बेल्जियम, जिबोटी, इन्डोनेशिया, आएरल्याण्ड, मोजाम्बिक, नेपाल, नाइजेरिया, नर्वे, रूवाण्डा, साउदी अरब, स्लोभानिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका एक–एक जनाको मृत्यु भएको छ ।

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७-८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ः३८ मा उडेको विमानको टावरसँग सम्पर्क विच्छेद भएको विमान कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement