एभरेस्ट महिला भलिबल लिगका अनुबन्धित खेलाडी सार्वजनिक

एभरेस्ट महिला भलिबल लिगका अनुबन्धित खेलाडी सार्वजनिक


काठमाण्डु-एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) का फ्रेन्चाइचले आफ्नो टोलीमा अनुबन्धित खेलाडी सार्वजनिक गरेका छन् । नेपाली भलिबलमा पहिलोपल्ट फ्रेन्चाइज लिग हुन लागेको हो ।

नेपाल भलिबल संघ र ६ फ्रेन्चाइजीका मुख्य प्रशिक्षक बीचको छलफलपछि ड्राफ्टबाट अन्तिम टोली बनाइएको आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले जानकारी दिएको हो ।

प्रत्येक टोलीका मार्की खेलाडीलाई मात्रै ‘ए’ श्रेणीमा राखिएको छ । गण्डकीले सरस्वती चौधरी, काठमाडौंले उषा भण्डारी, मधेसले निरुता ठगुन्ना, ललितपुरले सलिना श्रेष्ठ, कर्णालीले सुमित्रा रेग्मी र चितवनले अरूणा शाहीलाई ‘ए’ श्रेणीमा अनुबन्धित गरेका छन् ।

उनीहरूले एक लाख ५० हजार रूपैयाँ पाउनेछन् । ‘बी’ श्रेणीमा भने समान चार जना खेलाडी अनुबन्धित भएका छन् । नेपाली राष्ट्रिय टोलीकी सेटर प्रगति नाथसँगै लक्ष्मी चन्द, रिमा कुँवर र कविता भट्ट गण्डकीमा अनुबन्ध भए ।

काठमाडौंमा आरती सुवेदी, कोपिला राना, कमला पुन र उषा विष्ट अनुबन्धित हुँदा मधेसमा पूजा थारु, संगम महतो, जसना महतो र शान्तिकला तामाङ छानिएका छन् । ललितपुरमा पुनम चन्द, कामना विष्ट, साफिया पुन र निशा चौधरी अनुबन्धित भएका छन् ।

कर्णालीले ‘बी’ श्रेणीबाट मीना सुनार, मनीषा चौधरी, यमुना रसाइली र सुनीता राईलाई अनुबन्धित गरेको हो । यसै श्रेणीबाट सालिना बूढामगर, जिनिसा विश्वकर्मा, एन्जेला प्रधान र सुनीता खड्का चितवनमा अनुबन्धित भए । उनीहरूले एक लाख रूपैयाँ प्राप्त गर्नेछन् । ‘सी’ श्रेणीमा भने समान तीन खेलाडी रहेका छन् ।

आरती चौधरी, स्नेहा ठगुन्ना र सरस्वती जैसीले गण्डकीबाट खेल्नेछन् । रस्मिता दुरा, वसन्ती साउद, निशा महर काठमाडौंमा छन् । मधेसले हीरा केसी, आशिका क्षेत्री र एलिसा मानन्धर टोलीमा समावेश गरेको हो ।

ललितपुरमा भावना तामाङ, नेहा चौधरी र अनुषा चौधरी छन् । ‘सी’ श्रेणीबाट सृष्टि खड्की, गरिमा बोहरा र पशुपति बोहरालाई टोलीमा कर्णालीले भित्राएको छ । भावना डाँगी, वाल्मीका आचार्य र सरस्वती कट्टेल ‘सी’ श्रेणीबाट चितवनमा अनुबन्धित भएका छन् । उनीहरूले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

प्रत्येक टोलीमा तीन अन्तर्राष्ट्रिय खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । इन्फिनिटी ड्रिम्स प्रालिका संस्थापक तथा प्रबन्ध निर्देशक आमिर अख्तरले भारत, ब्राजिललगायत राष्ट्रबाट खेलाडी ल्याउने तयारी भइरहेको जानकारी दिए ।

कम्तीमा एक खेलाडीलाई भने ‘ट्यालेन्ट हन्ट’ बाट छान्दै टोलीमा राखिनेछ । खेलाडी घोषणा भए पनि फ्रेन्चाइजीले आफ्नो टोलीको नाम सार्वजनिक गर्न सकेका छैनन् । टोलीका मालिक रोहित अग्रवालले भने आफू वीरगन्ज केन्द्रित रहेकाले टोलीको नाम मधेस युनाइटेड रहने बताइसकेका छन् ।

पाँच टोलीका मालिकलाई पनि आफूखुसी टोलीको नामाकरण गर्ने अधिकार दिइएको छ । तर, प्रतियोगिताको मिति र खेलतालिका भने अझै सार्वजनिक हुन सकेको छैन ।