काठमाडौं – पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ। लामो समयदेखी विरामी कम्युनिष्ट नेता अधिकारीको ८३ वर्षको उमेरमा शनिबार राति ह्याम्स अस्पतालमा निधन भएको हो ।
अधिकारीलाई श्वासप्रश्वास र निमोनिया लगायतका समस्या भएपछि तीन हप्ता पहिले ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो। मेडिसिटी अस्पतालमा एक महिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि माघ २४ गते उनलाई ह्याम्स अस्पतालमा सारिएको थियो। अधिकारीलाई १६ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो। तीन दिनदेखि कुनै पनि प्रक्रिया जनाउन सकेका थिएनन्।
नेपाल कम्युनिष्ट पार्टीका नेता अधिकारी सन १९३६ मा महोत्तरीको भावरपूर्ण गाउँमा जन्मिएका हुन्। दाजु मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला २०५१ साल पुसमा पहिलोपटक अर्थमन्त्री बनेका अधिकारी चार पटक अर्थमन्त्री भए। यस्तै एकपटक यातायात तथा निर्माणमन्त्री, चार पटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन लगायत विभागमा प्रमुखको जिम्मेवारी बहन गरेका थिए।
अधिकारी अर्थमन्त्री हुँदा अघि सारिएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, वृद्धभत्ता र सुत्केरी खर्च अत्यन्तै लोकप्रिय बनेका छन्। अधिकारी अर्थमन्त्री हुँदा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन थालिएकोहो भने वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन अधिकारीकै योजनामा आएका हुन् । नेता अधिकारी मुलुकको इतिहासकै कुशल अर्थमन्त्रीका रुपमा चिर परिचित थिए ।
प्रतिक्रिया