सेनाको निर्णयः ९९ वर्ष पार गरेका भूपूसैनिकलाई मासिक १० हजार भत्ता


काठमाडौं– नेपाली सेनाले ९९ सय वर्षभन्दा माथिका भूतपूर्व सैनिकलाई सैनिक कल्याणकारिणी कोषबाट मासिक १० हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ। साथै, ९० वर्षदेखि ९९ वर्षसम्मकाले मासिक तीन हजार रुपैयाँ भत्ता पाउनेछन्।

पूर्वी पृतनामा मोरङ, सुनसरी, झापा इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका भूपू सैनिक सैनिक सम्मलेनको शुक्रबार इटहरी ब्यारेकमा समापन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले माघदेखि लागू हुने गरी सेनाले उक्त निर्णय गरेको बताए।

क्षत्रीले ‘कमाण्ड मार्ग निर्देशन, २०७२’ अनुसार कल्याणकारी कार्यक्रमको पहुँच बढाउनेतर्फ केन्द्रित रहेको बताए। अधिकतम संख्यामा बहालवाला, अवकाश प्राप्त तथा आश्रित परिवारका सदस्यलाई सहयोग तथा सुविधा प्रदान गर्ने गरी नयाँ कार्यक्रमहरुको लागि नेपाल सरकारसँग समन्वय र स्वीकृति लिई अगाडी बढ्ने नीति अवलम्बन गरिएको उनले बताए।

सम्मेलनबाट आगामी दिनमा संचालन हुने कल्याणकारी योजना थप सेवामुखी तथा सहज बनाउन सहयोगीसिद्ध हुने र बहालवाला तथा भूपू सैनिक सबैलाई दृढ र एकतावद्ध रहन प्रेरणा मिलेको क्षत्रीको भनाइ छ।

नेपाली सेना कल्याणकारी बोर्डका कार्यकारी अधिकृत उपरथी पदम विलास कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रममा भूतपूर्व सैनिकहरुको तर्फबाट उपरथी दिलिप कार्कीले धन्यवाद मन्तव्य राखेका थिए। बलाधिकृत रथी पूर्णचन्द्र थापाले समापन मन्तव्य व्यक्त गरेका थिए।

सम्मेलनमा ३ हजार ५ सय ५० जना भूतपूर्व सैनिक तथा निबृत्तभरणमा रहेका परिवारजनको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement