कक्षा १० सम्मको अन्तिम परीक्षा वैशाखमा गर्न निर्देशन


काठमाण्डु – सरकारले कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ वैशाखमा मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सूचना जारी गर्दै विद्यालयले लिने सबै परीक्षा वैशाखभित्र गर्न र नै नतिजा पनि बैशाखमै प्रकाशन गर्न निर्देशन दिएको हो ।

शैक्षिक सत्र २०७८ मा ओमिक्रोन (कोभिड १९) संक्रमणका कारण विद्यालयको दैनिक सिकाइ क्रियाकलापमा असर परेकोले शैक्षिक सत्र २०७८ को पठनपाठन, परीक्षा तथा २०७९ को नयाँ भर्नाको समय परिवर्तन भएको हो । केन्द्रले विद्यार्थीको पठनपाठनमा अधिकतम समय र प्राथमिकता दिन आवश्यक भएकाले शैक्षिक सत्र २०७८ को चैत मसान्तसम्मको पूरै अवधि विद्यालयले नियमित रुपमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ ।

यसका साथै, एसईई परीक्षा वैशाख ९ बाट सुरु हुने भएकाले स्थानीय तहले कक्षा ८ को परीक्षा पनि वैशाखमा नै अनुकुल समयमा सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । साथै, विद्यालयहरूले नयाँ शैक्षिक सत्र पनि वैशाखमा नै सुरु गर्नुपर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement