काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका विस्फोटक ब्याटर जर्ज मुन्सीलाई टोलीमा समावेश गरेको छ।
प्रतियोगिताको क्वालिफायरमा स्थान बनाइसकेको सुदूरपश्चिमले बाँकी खेलका लागि ३३ वर्षीय मुन्सीलाई अनुबन्ध गरेको हो। उनी टोलीका प्रभावशाली खेलाडी ब्रान्डन म्याकमुलेनको स्थानमा आएका हुन्। म्याकमुलेन भने फर्कि सकेका छन्।
ओपनिङ ब्याटर मुन्सी आक्रामक खेलशैलीका लागि परिचित छन्। उनले स्कटल्यान्डका लागि ८८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै २ हजार ५९८ रन बनाएका छन्। यसक्रममा उनको उच्च स्कोर १३२ रन रहेको छ। उनले टी–२० अन्तर्राष्ट्रियमा तीन शतक र १४ अर्धशतकसमेत प्रहार गरेका छन्।
सुदूरपश्चिमले मंगलबार पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेलको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले फाइनल पुग्ने अर्को अवसर पाउनेछ।


प्रतिक्रिया