काठमाण्डु – सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको विज्ञमा तीन जनालाई मनोनयन गरेको छ ।
कोषका अध्यक्ष एवं कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त अधिराज्य बेलायतका हाउस अफ लर्डका लर्ड क्यामोस विलियम स्टोनर, विश्वविख्यात संरक्षणकर्मी एवं वन्यजन्तु विज्ञ डा एरिक डाइनस्र्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइटलाई मनोनित गरेकी हुन् ।
संस्थाको अन्तरराष्ट्रिय साख अभिवृद्धि गर्न र वैज्ञानिक संरक्षणलाई थप गति दिन उनीहरूलाई मनोनित गरेको मन्त्री चौधरीको भनाइ छ ।
कोषको सञ्चालक समितिमा मनोनित भएका लर्ड क्यामोस विलियम स्टोनर र इरिक डाइर्नस्टन नेपालको संरक्षण इतिहाससँग जोडिएका व्यक्ति हुन् ।
बेलायतको ‘यूके नेपाल ट्रस्ट’का अध्यक्षसमेत रहेका आठौं ब्यारोन क्यामोस (विलियम स्टोनर)को परिवार नेपालको राजनीतिक र कूटनीतिक इतिहाससँग पुरानो र ऐतिहासिक सम्बन्ध छ । यता नेपालको संरक्षणमा लर्ड क्यामोसको परिवार विगतदेखि नै जोडिँदै आइरहेको छ । उनले अहिले पनि ब्रिटिस परोपकारी माध्यमबाट नेपालको जैविक विविधता संरक्षणमा ठूलो योगदान पुर्याइरहेको छ ।
त्यस्तै, सन् १९७०-८० को दशकमा चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैंडा र पाटेबाघको रैथाने आहारविहारबारे प्रारम्भिक र ऐतिहासिक अनुसन्धानमा गर्ने वैज्ञानिकहरूमध्येमा डा एरिक डाइनरस्टाइन पनि पर्दछन् ।
उनले विश्व वन्यजन्तु कोषमा २५ वर्ष मुख्य वैज्ञानिकका रूपमा नेतृत्व गर्दै ‘तराई आर्क ल्यान्डस्केप’को अवधारणा कोरेका थिए । अस्ट्रेलियाको फेडरेसन युनिभर्सिटीका डिन रहेकी प्रा. डा. विन्डी राइटले विगत एक दशकदेखि नेपालमा सालक संरक्षण, मध्यवर्ती क्षेत्र व्यवस्थापन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा अस्ट्रेलियन विद्यार्थीहरूलाई समेटेर निरन्तर स्थलगत प्राज्ञिक सहकार्य गर्दै आइरहेकी छन् ।




प्रतिक्रिया