आँखा जुधाएर कुराकानी : सामुन्ने भएको व्यक्तिले तपाईबारे के सोच्छ ?


काठमाडौं – किशोरावस्थाका व्यक्तिहरू प्रेमका बेला आँखाको चर्चा गर्छन् । प्रेमको शुरूवात पनि आँखा जुधेरै हुने गरेको बताइन्छ । जब दुई पक्षको आँखा जुध्छ, तब महसुस हुन्छ कि केही क्षणका लागि भएपनि दुवै पक्ष एकअर्कासँग जोडिए, नजिकिए । प्रेम कहानीमा मात्रै होइन, औपचारिक जीवनमा पनि भेटघाट र कुराकानीका क्रममा एकअर्कासँग आँखा जुध्ने गरेका छन् ।

चिनेजानेका व्यक्तिबीच मात्रै नभएर नचिनेका व्यक्तिहरूसँग पनि भीडभाडमा आँखा जुध्ने गर्छ । यसरी आँखा जुधेको व्यक्ति मान्छेको दिमागमा केहीबेर बसिरहन्छ । आँखा जुधाउनेहरू एकअर्काका बारेमा सोचिरहन्छन् ।

आँखा जुधाएर संवाद
आँखा जुधाउनु संवादको एक माध्यम हो । मानव सभ्यतामा आँखा जुधाएर नै प्रभावकारी संवाद हुन सक्ने बताइन्छ ।  आँखा जुधाएर गरिएको संवादले सामुन्नेको व्यक्तिबारे धारणा बनाउन सकिन्छ । अर्को पक्षले कुरा लुकाइरहेको, झुट बोलिरहेको वा झुक्याउन खोजिरहेको संकेत समेत आँखाको चालबाट थाहा पाउन सकिने हुन्छ ।

सामान्य धारणाभन्दा पनि आँखा जुध्ने विषयमा मनोवैज्ञानिक र तान्त्रिक विषयका विशेषज्ञहरूले यसबारे अनुसन्धान समेत गरेका छन् । नजर जुधाएर गरिएको संवाद धेरै शक्तिशाली हुने अनुसन्धानबाट खुलेको समाचार बीबीसी हिन्दीले प्रकाशित गरेको छ । समाचार अनुसार आँखा जुधाउँदा आफ्नो बारेमा धेरै गोप्य कुरा नजान्दा–नजान्दै बताएर जाने गरिएको छ । घुरेको आँखाले ध्यान तान्ने र नजिकै भइरहेको अरु क्रियाकलापमा ध्यान नजाने गरेको हुन्छ । ध्यान कुराकानीमै केन्द्रीत हुन्छ । कसैले घुरेर हेर्दा अर्को पक्षले उसको बारेमा अनेक सोच्न थाल्छ, विभिन्न कुराहरू खेल्न थाल्छन् ।

कसैसँग आँखा जुधेपछि पूरानो कुराबाट ध्यान भंग समेत हुन्छ । पुरानो स्मरण बिर्सिएर मान्छे नयाँ अध्यायमा प्रवेश गर्छ । सामुन्ने रहेको मान्छेमा मात्रै नभई भिडियोमा घुर्दै गरेको आँखालाई हेर्दा समेत ध्यान भंग हुन्छ । यसले मान्छेको स्मरणमा समेत असर गर्छ ।

असहज आँखा
धेरै समयसम्म घुर्दा कतिपयलाई असहज समेत हुने गरेको छ । धेरै समयसम्म घुरिरहँदा कुराकानी गर्ने मान्छेमा रहेको आत्मविश्वास र दृढता पनि झल्किन्छ । तर भर्खरै परिचित भएका व्यक्ति र विपरीत लिङ्गीहरूमा यसले असहज अवस्था पनि ल्याउन सक्छ । आँखा जुध्दा अर्काबारे राय बनाउने र आँखा जुधाउनेलाई बुद्धिमान, इमान्दार र गम्भीर खालको मान्छे मान्ने गरिएको छ । यसरी कुराकानी गर्ने व्यक्तिमाथि भरोसा गर्ने गरिएको छ । सन् १९६० को दशकमा भएको एक मनोवैज्ञानिक खोजले पत्ता लगाएको थियो कि मान्छे उत्तजित हुँदा उसका आँखा फैलिने गर्छन्, उत्तेजना बौद्धिक र शारीरिक दुवै हुन सक्छ ।

प्रेम र यौन
कतिपय मान्छे यसको सम्बन्ध यौन आकर्षणसँग पनि जोड्ने गर्छन् । ऐतिहासिक तथ्यलाई हेर्दा प्राचीनकालमा महिलाहरू कुनै पुरुषको ध्यान भंग गर्न घुर्ने र आँखा चौडा गर्ने गरिएको किंवदन्ती पढ्न पाइन्छ । एकअर्काप्रति शारीरिक रुपमा आकर्षित हुने व्यक्तिहरू आँखाको बखान समेत गर्ने गर्छन् । आँखा जुधाएर प्रेम अभिव्यक्ति गर्ने सन्दर्भमा पनि चर्चामा आउने गरेको छ । शब्दमा अभिव्यक्त गर्न नसकिएको प्रेमलाई आँखाबाटै सञ्चार गरिने प्रेमका कथाहरू पढ्न पाइन्छ । सम्बन्धित व्यक्तिप्रतिको सरोकार, आक्रोश र प्रेम आँखाबाट पढ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement