यस्ता छन् अनुहारको छाला चम्किलो र सुन्दर बनाउँने घरेलु उपाय


काठमाण्डु – पछिल्लो समय सुन्दर, आकर्षण देखिनु एक प्रतिस्पर्धाजस्तै भएको छ । गर्मीयाममा सूर्यको किरण निकै तेजिलो हुने भएकाले शरीरको खुला भागमा सन बर्न हुने, दाग बस्नेलगायतका समस्या आउन सक्छन् ।

त्यसैगरी अहिले सहरको धुलो र धुवाँले गर्दा छालामा धेरै असर पर्नसक्छ । धुलोले गर्दा छाला चिलाउने र गहिरो घाउ बनेर दागसमेत बस्ने सम्भावना हुन्छ । गर्मीयाममा शरीरमा पानीको मात्रामा कमी हुने गर्छ । यही कारणले गर्दा छालामा चाउरी पर्ने र छालाको चमकसमेत हराउँदै जान्छ ।

यस्तो अवस्थामा मानिसहरु सुन्दर, आकर्षण र चम्किलो छाला बनाउनका लागि बजारमा उपलब्ध हुने धेरै प्रकारको क्रिमको प्रयोग गर्ने गर्छन् । तर यस्तो बाहिरको क्रिमले छालालाई चम्किलो बनाएता पनि यसले छालालाई हानी गर्दछ । तसर्थ छाला चम्किलो बनाउनका लागि केहि घरेलु उपाय अपनाउनुहोस्, जसले छाला चिम्कलो हुनुका साथै स्वास्थ्यका लागि पनि फाइदा हुन्छ ।

छालालाइ चिम्कलो बनाउने घरेलु उपाय:

– दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने । त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने । सो लेदोमा काँचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने। करिब २० मिनेटपछि अनुहार पखाल्ने । हप्तामा एक पटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ ।

– डार्क सर्कल हटाउन आँखाको वरिपरि काँचो आलुको टुक्राले हल्का मसाज गर्ने ।

– एक चम्चा मह अनुहारमा लगाउने । (यसमा ४/५ थोपा कागतीको रस मिलाउन सकिन्छ) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ ।

– अनुहारमा चाया आएको छ भने काँक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ ।

– निमको पातलाई पिसेर लेदो बनाएर लगाउँदा छालाको रोगप्रतिरोधी क्षमता बढाउँछ । यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ ।

– पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ ।

– काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ ।

– काँक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।

– अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ ।

– सुन्तलाको बोक्रालाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने । यसलाई फेसवासको रुपमा प्रयोग गर्ने ।

प्रतिक्रिया दिनुहोस
Advertisement