काठमाण्डु– सामाजिक सञ्जाल कम्पनी मेटालाई आफ्ना प्लेटफर्महरूले बालबालिकामा पार्ने जोखिमबारे पर्याप्त चेतावनी नदिएको ठहर गर्दै थप ५६७ मिलियन अमेरिकी डलर (८६ अर्ब नेपाली रुपैयाँ) क्षतिपूर्ति तिर्न आदेश दिइएको छ।
अमेरिकाको न्यू मेक्सिको राज्यका एक न्यायाधीशले बिहीबार यस्तो फैसला गरेका हुन् ।
बालबालिकाको सुरक्षासम्बन्धी मुद्दामा मेटाविरुद्ध आएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो फैसला मानिएको बीबीसीले लेखेको छ।
न्यायाधीश ब्रायन बिडसाइडले मेटालाई सार्वजनिक उपद्रवको संज्ञा दिँदै यसको प्रभावलाई वायु प्रदूषणसँग तुलना गरेका छन्। उनले उक्त रकम भविष्यमा बालबालिकामाथि हुने यस्ता हानिहरू न्यूनीकरण गर्न स्थापना गरिने विशेष कोषमा जम्मा गर्न आदेश दिएका छन्।
यो आदेश यसअघि मेटालाई तिर्न भनिएको ३७५ मिलियन अमेरिकी डलर जरिवानाभन्दा अतिरिक्त हो। यससँगै मेटाले तिर्नुपर्ने कुल रकम ९४२ मिलियन अमेरिकी डलर पुगेको छ।
न्यायाधीश बिड्सचाइडले आफ्नो आदेशमा मेटालाई एउटा कारखानासँग तुलना गर्दै विज्ञापन र सामग्रीलाई त्यसको उत्पादन तथा बालबालिकामाथि हुने मनोवैज्ञानिक क्षति र यौन शोषणलाई नियन्त्रण गर्नुपर्ने प्रदूषणको रूपमा व्याख्या गरेका छन्।
मेटाका प्रवक्ताले अदालतको निर्णयप्रति असहमति जनाउँदै कम्पनीले यसविरुद्ध पुनरावेदन गर्ने बताएका छन्।
प्रवक्ताले भने, ‘हामी यस निर्णयसँग सहमत छैनौँ र पुनरावेदन गर्नेछौँ।’
उनले थपे, ‘हामी आफ्ना प्लेटफर्महरूलाई सुरक्षित बनाउन निरन्तर काम गरिरहेका छौँ। खराब नियत भएका व्यक्तिहरू तथा हानिकारक सामग्री पहिचान गरी हटाउने चुनौतीबारे हामी पारदर्शी छौँ। किशोर–किशोरीहरूको अनलाइन सुरक्षा सुनिश्चित गर्न हाम्रो प्रयासप्रति हामी विश्वस्त छौँ र तथ्यलाई गलत रूपमा प्रस्तुत गरिएका दाबीविरुद्ध कानुनी प्रतिरक्षा जारी राख्नेछौँ।’
यसअघि यही मुद्दामा सुनाइएको ३७५ मिलियन डलर जरिवानाविरुद्ध पनि मेटाले पुनरावेदन गर्ने घोषणा गरेको थियो। बालबालिकाको सुरक्षासम्बन्धी विषयमा कुनै अमेरिकी राज्यले मेटाविरुद्ध मुद्दा जितेको यो पहिलो घटना हो।
हाल अमेरिकाभर बालबालिकाको सुरक्षासम्बन्धी यस्तै आरोपमा मेटाविरुद्ध हजारौँ मुद्दा विचाराधीन छन्। न्यू मेक्सिकोको फैसलाबाहेक यसै वर्ष कम्पनीले लस एन्जलसमा पनि यस्तै प्रकृतिको अर्को मुद्दा हारेको थियो।




प्रतिक्रिया