फास्ट ट्रयाककाे डिपिआर बन्याे : अब दूरी ७६ होइन, ७२ किलोमिटर


काठमाडौं–नेपाली सेनाले निर्माणको जिम्मा पाएको काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को दूरी चार किलोमिटर घट्ने भएको छ।

फास्ट ट्रयाकको दूरी यसअघि ७६ किलोमिटर कायम भएकोमा दक्षिण कोरियाको सोसुंग इन्जिनियरिङ कन्सल्टेन्सीले डिपिआर तयार गर्दै ७२ किलोमिटरमा झारेको हो।

तर, सुरुङको दुरी भने बढेको छ। द्रुतमार्गको पुरानो डिपिआरमा मकवानपुरको महादेवटारडाँडा नजिकै १.४ किलोमिटर सुरुङ बनाउने उल्लेख थियो।

कोरियन कम्पनीले तयार पारेको डिपिआरको ड्राफ्टमा तीन वटा टनेल रहेका छन्।

महादेवडाडामा (छोक्रेडाडा देखि महादेव खोल्सी) ३.३०० किमी, धेन्द्रेमा सिमपानीवेसीदेखि चालिसेखोल्सी १.३७० किमी र लेनडाडामा घट्टेपाखादेखि बादरेखोल्सी १.४०० किमी टनेलको कुल लम्वाई ६.०७ किमी रहेको छ। यसले केहि पुलको सङख्या घटाएको छ भने दुरी करिव ४ किमी घट्ने छ।

कोरियन कम्पनीले १० करोड १५ लाख रुपैयाँ लागतमा दु्रतमार्गको डिपिआर तयार पारेको हो। सेनाका अधिकारीहरुले कोरियन कम्पनीले उपलब्ध गराएको डिपिआर अध्ययनमा दुई साता जति लाग्ने जनाएका छन् ।

यसअघि द्रुतमार्गको डिपिआर तयार पारेको भारतीय कम्पनी आइएल एन्ड एफएसले डिपिआरको मूल्य ६१ करोड रुपैयाँ तोकेको थियो ।

आयोजना सम्पन्न गर्दासम्म द्रुतमार्गमा एक खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने अहिलेको अनुमान हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement