फाष्ट ट्रयाकको काम समयमै सक्ने नेपाली सेनाको दावी,यस्तो छ हालसम्मको आयोजनाको प्रगती


काठमाण्डु -नेपाली सेनाले काठमाण्डु तराई -मधेस द्रुतमार्ग फाष्ट ट्रयाक निर्माणको कामले गति लिएको जनाएको छ । सेनाले उक्त काम निर्धारित समयसीमाभित्रै निर्माण सकिने समेत दावी गरेको छ । ७२.५ किलोमिटर लामो यो आयोजना बागमती र २ नम्बर प्रदेशका चार वटा जिल्लाहरु (ललितपुर,काठमाडौं मकवानपुर बारा )हुंदै निजगढलाई अन्तिम बिन्दुको रुपमा प्रस्ताव गरिएको छ ।

सेनाले मंगलवार सांझ एक विज्ञप्ती जारी गर्दै लामो समयसम्म डिपिआर उपलब्ध नहुनु र उपलब्ध भइ सकेपछी पनि स्वीकृती हुन नसक्नु तथा अन्तराष्ट्रिय परामर्शदाताको छनौटमा हुन गएको ढिलाई तथा कोभिड-१९ का कारण परियोजना आशातित गतिमा अघि बढ्न नसकेको दावी गरेको छ ।

विज्ञप्तीमा आयोजनाले अन्तराष्ट्रिय परामर्शदाता र सम्बद्ध टिमको आगमन एवं जटील पाटोको रुपमा रहेको सुरुङ्ग मार्गको लागि कम्पनिहरुको सटलिष्टिंगको लागि मुल्याङ्कन कार्य अघि बढ्नुका साथै गति पक्डेको उल्लेख गरिएको छ ।

सरकारले २०७४ साल बैशाख २१ गते मन्त्रिपरिषदको निर्णयबाट निर्माण व्यवस्थापनको जिम्मेवारी सेनालाई दिएको थियो । उक्त परियोजनाको डिपिआरको स्विकृती भने त्यसको दुई वर्षपछि २०७६ भदौ १ गते भएको थियो । डिपिआरअनुसार यो परियोजनाको अनुमानित लागत १७५ अर्ब रहेको छ भने आयोजना २०८१ भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यस्तो छ आयोजनाको प्रगती
यस आयोजनाको समष्टिगत कार्य विवरण अनुसार हाल छैठौ चरणमा चलिरहेको छ । हाल सम्म यस आयोजनाको वार्षिक प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र वित्तिय तर्फ ४२. ८० प्रतिशत रहेको तथा समष्टिगत प्रगति भौतिकतर्फ १६.२१ प्रतिशत रहेको छ भने वित्तिय तर्फ ९.५२ प्रतिशत रहेको छ । यस आयोजनाको वित्तीय प्रगति विवरण अनुसार हालसम्मको कुल वित्तिय खर्च १६ अर्व ६६ करोड रहेको छ ।

संरचनागत कार्य प्रगति
काठमाडौं, तराई मधेश द्रुतमार्ग सडक खण्ड आयोजनाको कुल लम्वाई ७२.५ कि.मी. मध्ये ३ वटा सुरुङ्ग मार्गको जम्मा लम्बाई ६.४१ कि.मी., विभिन्न पुलहरुको लम्बाई १०.५९ कि.मी. र ढुङ्गा माटोको कट फिल गर्नुपर्ने सडक खण्डको लम्बाई ५५.५ कि.मी.रहेको छ । जस अन्तरगत आयोजनाको ४४.१ कि.मी. सडक खण्डको सव ग्रेड लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्ने र पुर्ने काम हालसम्म ८८.५ प्रतिशत सम्पन्न भएको सेनाले जनाएको छ ।

२०७७ साल कार्तिक महिनासम्म सो आयोजनाको कुल कार्य अंशको थप ५.१०५ प्रतिशत काम सम्पन्न भई आयोजनाको कुल कार्यको १६.२१५ प्रगति हासिल भएको छ ।

त्यसैगरी सेनाले ल्याब सेटअप,बेलिबृज निर्माण कार्य,पुल निर्माण कार्य,सुरुगं खण्ड निर्माण कार्य,जग्गा अधिग्रहण,रुख कटान तथा व्यवस्थापन र अन्र्तराष्ट्रिय परामर्शदाता छनौटको कार्य तिव्रताका साथ अघि बढेको विज्ञप्तीमा जनाएको छ ।

सेनाले सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारी अनुरुप राष्ट्रको विकास र समृद्धिको लागि कोशेढुङ्गा सावित हुने राष्ट्रिय गौरवको यस काठमाण्डौ-तराई र मधेश द्रुतमार्ग सडक आयोजना पारदर्शी एवं गुणस्तरीय रुपमा लक्षित समयमै सम्पन्न गर्ने गरी समष्टिगत कार्य योजना अनुसार हालको विश्वव्यापी कोभिड -१९ महामारी लगायत विभिन्न चुनौतीको बाबजुद आयोजना निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाइएको दावी गरेको छ ।

सरकारद्वारा निर्दिष्ट भए अनुरुप नेपाली सेना राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको यस द्रुतमार्ग सडक आयोजना सफलतापूर्वक सम्पन्न गर्न कटिबद्ध रहि आएको समेत सेनाले विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement