सांसदको प्रश्नः फास्ट ट्रयाक २ वर्षभित्र बन्छ ? सेनाले दियाे जवाफ


काठमाडौँ—तराई÷मधेस फास्ट ट्रयाकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषद्मा अड्किएर बसेका बेला संसदीय समितिले निर्माणको जिम्मा पाएको नेपाली सेनालाई बोलाएर छलफल गरेको छ।

४ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो सडकको नयाँ डीपीआर बनाएर रक्षा मन्त्रालय मार्फत् मन्त्रिपरिषद्मा पेश गरेको ३ महिना पुग्दा पनि स्वीकृत नभएका बेला संसदको विकास तथा प्रविधि समितिमा सोमबार छलफल भएको हो।

समितिका सदस्य सांसद गणेश पहाडीले ४ वर्षमा बन्ने भनिएको फास्ट ट्रयाक निर्माणको २ वर्ष बितिसक्यो, अब २ वर्षमा बन्ने आधार के छ ? भनेर प्रश्न गरेका थिए।
नेपाली सेनाका आयोजना प्रमुख सदरलाल श्रेष्ठले डीपीआर स्वीकृतिको चरणमा रहेको र निर्माणको काम धमाधम भइरहेको जानकारी दिए। भारतीय कम्पनीले बनाएको डीपीआरको आधारमा सडक खन्ने काम लगभग सकिएको उनले जनाए।

फास्ट ट्रयाकको लागत १ खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ निर्धारण गरिएको छ भने  लम्बाई ७२.५ किलोमिटर निर्धारण गरिएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । द्रुतमार्गको बुदुनेमा इन्टर सेक्सन निर्माण गरिने र ६.४ किलोमिटर लामो सुरुङ बन्ने उनले जानकारी दिए । फास्ट ट्रयाक निर्माण सम्पन्न भएपछि १ घण्टा २ मिनेटमा काठमाडौँबाट बारा जिल्लाको निजगढ पुगिन्छ । विगतमा १ खर्ब १२ अर्ब लागत अनुमान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement