काठमाडौं – काठमाडौं महानगरपालिका शिक्षा शाखाले काठमाडौं भ्याली, काव्य र ह्वाइट हाउस वल्र्डलगायतका स्कुललाई सोधपुछ गरेको छ । लकडाउनको समयमा मासिक शुल्क तिर्न अभिभावकलाई बारम्बार चेतावनी दिएपछि कामपा शिक्षा विभागले मंगलबार दिउँसो सोधपुछ गरेको हो ।
कामपा शिक्षा अधिकारी सीताराम कोइरालाले अनलाइन र अन्य कक्षा सञ्चालन गरेको बहानामा शुल्क उठाउन अभिभावकलाई दबाब दिएपछि सोधपुछ गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सञ्चारमाध्यममा आएका समाचार र अभिभावकको गुनासो र उजुरीको आधारमा सोधपुछ गरेका हौं ।’
काठमाडौं भ्याली स्कुलले दुईपटकसम्म म्यासेज पठाएर अभिभावकलाई शुल्क तिर्न दबाब दिएको थियो । हिमालयन ह्वाइट हाउसले कक्षागतरूपमा अभिभावकसँग अनलाइन बैठक गरेर वार्षिक शुल्क मागेको थियो ।
काव्यले प्रेमराज अर्याल, दिलीप थापा र सुनिलकुमार घर्तीको नाम उल्लेख गर्दै इन्भेस्टमेन्ट बंैकको खातामा शुल्क जम्मा गर्न दबाब दिएको थियो । यसअघि वेस्ट मन्टेश्वरीले अभिभावकलाई पत्र पठाएर शुल्क माग गर्दा कामपा शिक्षा विभागले स्पष्टीकरण लिएपछि रकम लिने निर्णय फिर्ता लिएको थियो ।
विभागमा दैनिकजसो उजुरी आउन थालेपछि विभागले विभिन्न माध्यमबाट अनुगमन शुरू गर्न थालेको जनाएको छ । शिक्षा अधिकारी कोइरालाले यस्तो अवस्थामा शुल्क लिन खोज्ने विद्यालयमाथि कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो– ‘शिक्षा दिने नाममा मनपरी गर्न कसैलाई छुट छैन ।’यो समाचार आजको समाचारपत्र दैनिकमा छ ।




प्रतिक्रिया