मोरङ– चाडपर्वको अवसर पारेर मोरङको सुन्दरहरैँचामा असोज २५ गतेदेखि ‘सुन्दरहरैँचा फुड फेस्टिबल’ आयोजना हुने भएको छ।
विराटचोकस्थित सुन्दरहरैँचा औद्योगिक प्रदर्शनी केन्द्रमा कात्तिक १० गतेसम्म सञ्चालन हुने फेस्टिबलमा दुई लाखभन्दा बढी दर्शक तथा अवलोकनकर्ता भित्र्याउने लक्ष्य राखिएको छ।
सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने फेस्टिबलमा स्थानीय परिकार, कृषि तथा घरेलु उत्पादन, हस्तकला, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक गतिविधि मुख्य आकर्षण रहनेछन्।
सुन्दर होटल पर्यटन व्यवसायी सङ्घ सहआयोजक रहेको फेस्टिबल दसैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजना हुन लागेको हो।
आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी फेस्टिबलको तयारी, आकर्षण, व्यवस्थापन र आर्थिक योजनाबारे जानकारी गराएको हो।
राजेशपायलदेखि रचनासम्मका कलाकार
फेस्टिबलमा गायक राजेशपायल राई, सविन राई, डम्बर नेपाली र मिलन परियार तथा गायिका रचना रिमाल, प्रीति आले मगर र एलिना चौहानलगायत कलाकारले सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको आयोजकले जनाएको छ।
राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुतिसँगै विभिन्न मनोरञ्जनात्मक र खेलकुद गतिविधिसमेत सञ्चालन गरिनेछ।
बेलुका १० बजेसम्म सञ्चालन हुने फेस्टिबललाई बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि परिवारसहित घुम्न र मनोरञ्जन लिन सकिने उत्सवका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
नेवारी परिकारदेखि स्थानीय उत्पादनसम्म
फेस्टिबलमा नेवारी खानासहित विभिन्न जातजातिका मौलिक परिकार उपलब्ध हुनेछन्। कृषि तथा घरेलु उत्पादन, हस्तकला र व्यापारिक सामग्रीको प्रदर्शनी तथा बिक्रीसमेत गरिने आयोजकले जनाएको छ।
फेस्टिबलमा विभिन्न प्रकृतिका १४ वटा व्यावसायिक स्टल रहनेछन्। स्थानीय उत्पादन तथा सामाजिक र सांस्कृतिक क्षेत्रको प्रवर्द्धनका लागि छवटा निःशुल्क स्टलसमेत उपलब्ध गराइनेछ।
सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले फेस्टिबललाई मनोरञ्जनमा मात्र सीमित नराखी स्थानीय उत्पादन, व्यापार, पर्यटन र उद्यमशीलता प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्न खोजिएको बताए।
उनका अनुसार कार्यक्रमले स्थानीय व्यवसायीलाई बजारसँग जोड्नुका साथै उपभोक्तालाई स्थानीय उत्पादनसँग परिचित गराउनेछ।
फेस्टिबलका संयोजक ज्ञानप्रसाद ढकालले चाडपर्वको उल्लासलाई स्थानीय स्वाद, संस्कृति र मनोरञ्जनसँग जोड्ने गरी तयारी भइरहेको बताए। फेस्टिबलले मौलिक खानपान, भाषा, भेषभूषा र परम्पराको संरक्षण तथा प्रचारप्रसारमा योगदान पुर्याउने उनको भनाइ छ।
एक करोड दुई लाख आम्दानीको अनुमान
आयोजकले फेस्टिबलबाट एक करोड दुई लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ। टिकट बिक्रीबाट ८५ लाख, मुख्य प्रायोजक तथा सहप्रायोजकबाट १० लाख र मनोरञ्जन तथा खेलकुद गतिविधिबाट सात लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।
त्यस्तै, कलाकार व्यवस्थापन, मैदान व्यवस्थापन, विद्युत्, खानेपानी, सरसफाइ, कर्मचारी पारिश्रमिक, अतिथि सत्कार, आवास, खाना र प्रचारप्रसारलगायत शीर्षकमा ८७ लाख रुपैयाँ खर्च हुने अनुमान छ। आम्दानी र खर्चको प्रक्षेपणअनुसार आयोजकले १५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखेको छ।
बचत रकम सङ्घको संस्थागत विकास, व्यवसायीको हित, सामाजिक उत्तरदायित्व र आगामी कार्यक्रम सञ्चालनमा उपयोग गरिने जनाइएको छ।
फेस्टिबलको मुख्य प्रायोजक नेपालीरिका होटल रहेको छ। अन्य प्रायोजकमा पार्थिभरा फुड प्रोडक्ट, चामुण्डा फुड (बेली), कञ्चनजङ्घा इन्जिनियरिङ प्रालि, प्रणाम इँटा, प्रिन्स इँटा, टुबोर्ग बियर, म्याक्स टाइगर इनर्जी ड्रिंक्स, ग्रिनसिटी हाउजिङ र आरएनजी ग्रुप रहेका छन्।
स्थानीय स्वाद, संस्कृति, व्यापार र मनोरञ्जनलाई एउटै थलोमा जोड्ने लक्ष्यसहित आयोजना हुन लागेको फेस्टिबलले सुन्दरहरैँचाको आर्थिक गतिविधि चलायमान बनाउनुका साथै स्थानीय व्यवसायीका लागि नयाँ अवसर सिर्जना गर्ने आयोजकको अपेक्षा छ।



प्रतिक्रिया