पोखरा – कास्कीको पोखरास्थित फेवातालमा अचानक आएको हावाहुरी र छालका कारण डुङ्गामा फसेका ५ जना भारतीय नागरिकहरूलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित लेकहाउस नजिकै फेवातालमा काठको डुङ्गा सयर गरिरहेका भारतीय पर्यटकहरू बिहीबार आएको तीव्र हावाहुरीमा परेका थिए ।
हावाहुरी र तालमा उठेको ठूलो छालका कारण डुङ्गा अनियन्त्रित भई उनीहरूबिच तालमै संकटमा परेका थिए । उद्धार गरिएकाहरूमा ललिता केम्बागी, यल्लेशा, प्रविना काले, भास्कर यल्लेश काले र निलकांकषा रहेका छन् ।
भारतीय पर्यटकहरू संकटमा परेको खबर प्राप्त हुनासाथ फेवाताल ‘वाच एन्ड रेस्क्यु टावर’बाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा तत्काल टोली खटिएको थियो । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनीहरूलाई तालबाट सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको छ ।
पछिल्लो समय पोखरा र वरपरको क्षेत्रमा दिउँसोको समयमा अचानक हावाहुरी चल्ने क्रम बढेकाले तालमा डुङ्गा सयर गर्दा सावधानी अपनाउन सुरक्षा निकायले आग्रह गर्दै आएको छ ।




प्रतिक्रिया