ठाउँ ठाउँमा सडक दुर्घटना, १५ घन्टामै गयो १७ को ज्यान


काठमाडौं – करिब १५ घण्टाको अवधिमा भएका ९ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ । शनिबार १६:४५ बजेदेखि आइतबार बिहान सम्मको उक्त अवधिमा धादिङ, झापा, कैलाली, सिराहा, महोत्तरी र उदयपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा १७ जनाको ज्यान गएको हो ।

दुर्घटनामध्ये धादिङ गजुरी गाउँपालिका-६ आदमघाटस्थित पृथ्वी राजमार्गमा झापाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ४३८७ नम्बरको बस आइतबार बिहान अनियन्त्रित भई त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ महिला र १ पुरुषको घटनास्थलमै तथा ४ जनाको विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेहरू काठमाडौं थानकोट बस्ने ५१ वर्षीय राज कुमार सुवेदी, ईलाम कल्याम बस्ने ४६ वर्षीय बिशाल गिरी, धादिङ बेनिघाट रोराङ गाउँपालिका(३ बस्ने ४३ वर्षीय राजन आचार्य रहेका छन् भने अन्य ४ जनाको हाल सनाखत हुन सकेको छैन् । घाइते हुनेहरुमा ८ महिला, १ बालिका र २१ पुरुष गरी ३० जना छन् । उनीहरुको वीर अस्पताल ट्रमा सेन्टर काठमाडौं, आदमघाट मेडिकल कलेज, गल्छी मेडिकल र गजुरी अस्पताल समेतमा उपचार भइरहेको छ । उक्त बस पानीमा आधा डुबेको अवस्थामा रहेको छ ।

यसैगरी झापा मेचीनगर नगरपालिका-१२ काली झोडास्थित पूर्वपश्चिम राजमार्गमा मे.९ प १७८४ र मे.४ प ८१८६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँई दुर्घटना हुँदा गम्भीर घाइते भएका मे.४ प ८१८६ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-१४ दुवागढी बस्ने ४१ वर्षीय अर्जुन सुनुवारको बीएनसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी कैलाली भजनी नगरपालिका-३ कुसुमघाटस्थित सडकमा से.१ ह २७३७ नम्बरको अटोरिक्शा पल्टिएर दुर्घटना हुँदा गम्भीर घाइते भएका अटोरिक्शामा सवार बर्दिया गुलरीया नगरपालिका-४ बस्ने ५१ वर्षीय गिदवा थारुको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका आटो चालक समेत ४ जनामध्ये २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जना उपचार पश्चात डिश्चार्ज भएका छन् ।

अटोरिक्सा चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ । साथै कैलाली टिकापुर नगरपालिका-७ स्थित सडकमा बा.१६ च ४७१० नम्बरको कार र यूपी ३१ स ५१७० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-८ बटनपुर बस्ने २६ वर्षीय कमल साउदको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै कैलाली जानकी गाउँपालिका-४ बेलापुरस्थित सडकमा से.२ प ४२४६ नम्बरको मोटरदाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय रामनारायण चौधरीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने कृष्ण बमको टिकापुर अस्पताल हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके पठाइएको छ ।

यसैगरी सिराहा धनगढीमाई नगरपालिका-१० आँप चोकमा स.९ प ९६३६ नम्बरको मोटरसाइकलले स.१ ह २९० नम्बरको अटो रिक्शालाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सर्लाही लालबन्दी नगरपालिका-४ बस्ने ३२ वर्षीय राजकुमार चौधरीलाई उपचारको लागि श्रमजिवी अस्पताल धनगढीतर्फ लैजाने क्रममा मृत्यु भएको छ । मोटरसाइकल र अटो रिक्शालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी महोत्तरी बर्दिबास नगरपालिका-१ भप्सी पुलस्थित सडकमा बा.८ च ८७४९ नम्बरको एम्बुलेन्सले ना.७ ख ६७६५ नम्बरको ट्रकमा ठक्कर दिँदा गम्भीर घाइते भएकी एम्बुलेन्समा सवार बर्दिबास नगरपालिका-११ खयरमारा बस्ने ४८ वर्षीया हेम कुमारी गौतमको उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौंतर्फ लैजाने क्रममा मृत्यु भएको छ ।

एम्बुलेन्स चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ भने ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी उदयपुर कटारी नगरपालिका-१४ स्थित सडकमा बा.४ ख ७००० नम्बरको टिप्पर सडकबाट खोलामा खसेर दुर्घटना हुँदा सिन्धुली दुधौली नगरपालिका-११ बस्ने २० वर्षीय लिला बहादुर सार्की र कटारी नगरपालिका-५ भोर्ले बस्ने माईलो भनेर चिनीने हाल नाम, थर नखुलेका करिब २५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement