‘दिमाग खराब’ फिल्मको अडानमा निर्माता संघको समर्थन, अन्तिमसम्म ५०% शेयर पाउनुपर्ने माग


काठमाण्डु – चलचित्र प्रदर्शनमा रहँदा अन्तिमसम्म निर्माता र हलबीच ५०/५० प्रतिशत शेयर बाँडफाँट हुनुपर्ने भनी ‘दिमाग खराब’ फिल्मले राखेको अडानमा नेपाल चलचित्र निर्माता संघले समर्थन जनाएको छ ।

चलचित्र प्रदर्शनमै रहेका बेला दिमाग खराबका निर्माताले ५०% शेयर नपाउने भए प्रदर्शन रोक्ने चेतावनी दिएको छ ।

बिहीबार बसेको संघको बैठकले ‘दिमाग खराब’ फिल्मका निर्माता–निर्देशकले राखेको हलमा उचित शो र अन्तिम समयसम्म ५०–५० प्रतिशत शेयर पाउनुपर्ने अडानलाई साथ दिने निर्णय गरेको छ ।

बैठकपछि संघका महासचिव सुनिलकुमार थापाद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘दिमाग खराबले गरेको निर्णयप्रति ऐक्यबद्धता जनाउँदै यो प्रक्रियाको सिलसिला हिजोदेखिकै हो । यस्तो हेपाहा प्रवृत्तिलाई अन्त्य गर्नका लागि अन्तिम लडाइँ लड्नुपर्ने समय आइसकेको छ र निर्माता संघले उठाएका मुद्दामा सहमतिमा आउन प्रदर्शकहरूको साझा संगठन नेपाल चलचित्र संघलाई वार्ताको लागि आह्वान गर्दछौं । अन्यथा नेपाली चलचित्र निर्माताको अस्तित्व रक्षार्थ नेपाली र विदेशी लगायतका कुनै पनि भाषाका सिनेमाहरूको प्रदर्शन गर्न नदिई कडा रूपमा प्रस्तुत भई आन्दोलन अन्तिम लडाइँमा होमिने प्रष्ट पार्न चाहन्छौं ।’

संघले प्रदर्शकहरूले स्वदेशी निर्माता र सिनेमालाई स्वार्थ केन्द्रित साधनको रूपमा मात्र लिँदै आएको आरोप लगाएको छ ।

शुक्रबार रिलिज भएको दिमाग खराबका निर्माताले फिल्मले दर्शकको उच्च साथ पाउँदा–पाउँदै पनि विदेशी फिल्मको तुलनामा कम शो दिएको तथा पहिलो र दोस्रो हप्ताझैं तेस्रो हप्तादेखि पनि प्रदर्शक र निर्माताबीच ५०–५० प्रतिशत शेयर बाँडफाँट हुनुपर्ने भन्दै बुधबार साँझ २४ घण्टे अल्टिमेटम दिएको थियो । माग पूरा नभए शुक्रबारदेखि फिल्म रिलिज स्थगित गर्ने निर्माता–निर्देशकले घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement