नेपाली फिल्मको हिस्सा बन्न पाउँदा गर्व लागेको छः सन्नी लियोनी


काठमाडौं – पूर्वपोनस्टार एवम् बलिउडकी हट एण्ड बोल्ड नायिका सन्नी लियोनीले नेपाली फिल्मको हिस्सा बन्न पाउँदा गर्भ लागेको बताएकी छन् ।

फिल्म ‘पासवर्ड’बाट नेपाली फिल्मको हिस्सा बन्ने अवसर पाएकी सन्नीले सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै सो कुरा बताएकी हुन् ।

चार दिन अगाडि युट्युबमा रिलिज भएको चलचित्र ‘पासवर्ड’ को ‘आजको शाम’ गीतले अहिलेसम्म साढे १३ लाखभन्दा बढी भ्यूज बटुलिसकेको छ ।

यस गीतको छायांकनका लागि सन्नी डान्स कोरियोग्राफर विष्णु देवालाई साथमा दिएर भारतबाट लण्डन पुगेकी थिइन् । अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर र विक्रम जोशीको शब्द रहेको गीतको अडियो सुनेपछि नै सन्नीले उत्साहित हुँदै तारिफले भरिएको एक ट्विट गरेकी थिइन् । युट्युबमा सार्वजनिक भएको उक्त गीतको भिडियो ट्विटमा आइतबार साझेदार गर्दै उनले नेपाली फिल्मको हिस्सा बन्न पाउँदा गर्व लागेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘नेपाली फिल्म ‘पासवर्ड’ को गीत साझा गर्न पाएकोमा म निकै खुसी छु । किनकि, तपाईंहरु मेरो नेपालप्रतिको प्रेम जान्नुहुन्छ । योसँगै मलाई नेपाली फिल्म वर्ल्डको हिस्सा बन्न पाएकोमा गर्व महशुस भएको छ । नेपालमा महान प्रतिभाहरुहरुको जन्म भइरहेको छ ।’ उनले नृत्य गरेको फिल्म ‘पासवर्ड’ भाद्र २७ गतेबाट प्रदर्शनमा आउँदैछ । सन्नी यस फिल्मको प्रिमियरका लागि नेपाल आउने निर्माण टिमले बताएको छ ।

सार्वजनिक ‘आजको शाम’ बोलको गीतमा सन्नीसँग फिल्मका लिड अभिनेता बिक्रम जोशी (विक्की) ले पनि ठुम्का लगाएका छन् । अभिनेता अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङलाई पनि गीतमा देख्न सकिन्छ । यस फिल्मका निर्देशक सम्राट बस्नेत हुन् । यसलाई हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् ।

फिल्मका कार्यकारी निर्माता अंकित गौतम हुन् । फिल्ममा सौरभ लामाको छायांकन छ । कहिले विभिन्न रमणीय ठाउँ घुम्न त कहिले आफू ब्रान्ड एम्बसेडर रहेको कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्न उनी प्रायः बेला बेलामा नेपाल आइरहन्छिन् । नेपाल भ्रमणमा रहँदा उनले सधैं नेपाली फिल्ममा काम गर्न इच्छा व्यक्त गर्ने गर्थिन् । फिल्म ‘पासवर्ड’बाट उनले नेपाली फिल्मको हिस्सा बन्ने अवसर पाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement