अर्थमन्त्रीले गरे मन्त्रालयको टिम परिवर्तन, ठूला करदातामा राजेश्वर ज्ञवालीले पाए जिम्मेवारी


काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयको आफ्नो टिम फेरबदल गरेका छन् । दोस्रो पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि शर्माले मन्त्रालयको टिम हेरफेर गरेका हुन् । यसअघि पहिलो कार्यकालमा विवादमा आएका अर्थमन्त्रीले दोस्रो कार्याकालमा भने सुझबुझपूर्ण तरिकाले काम गरिरहेको निकट स्रोत बताउंछ ।

शर्माले अर्थसचिवमा राजस्व सचिव कृष्णहरि पुष्करललाई ल्याएका थिए । राजस्वमा भने रामेश्वर दंगाललाई जिम्मेवारी दिएका थिए । पुष्करले एक वर्ष राजस्वमा बसेर काम गरेका थिए । अर्थमन्त्रालयमा राजस्व सचिवलाई नै अर्थमा ल्याउने प्रचलन छ । तर, यसअघिका अर्थसचिव मधु मरासिनीलाई भने सिधै अर्थमा ल्याइएको थियो । दंगाल अर्थमन्त्रालयमा लामो अनुभव भएका अधिकारी हुन् ।

मन्त्री शर्माले मन्त्रालयअन्र्तगतका सहसचिवहरुको समेत जिम्मेवारी हेरफेर गरेका छन् । अर्थमन्त्रालयअन्र्तगत रहेको सबैभन्दा महत्वपूर्ण कार्यालय ठूला करदातामा सहसचिव राजेश्वर ज्ञवालीलाई ल्याइएको छ । उनि अर्थमन्त्रालय अन्र्तगतको आर्थिक नीति विश्लेषण महाशाखाको प्रमुख थिए । ज्ञवालीले यसअघि भौतिक योजना मन्त्रालयमा प्रशासन प्रमुख र काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।

सहसचिव शिवलाल तिवारीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख, मध्यमस्तरीय करदाता कार्यालय प्रमुख रहेका शम्भु मरासिनीलाई महालेखा, ढुण्डिराज निरौलालाई मध्यमस्तरीय करदाता कार्यालय, नवराज ढुंगानालाई बीरगंज भन्सार कार्यालय, अरुण पोखरेललाई त्रिभुव अन्र्तराष्ट्रिय भन्सार कार्यालय र महेश भट्टराईलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ ।

त्यसैगरी आनन्द काफ्लेले योजना अनुगमन तथा मुल्यांकन महाशाखा, सुमन दाहाल वित्तीय संघियता समन्वय महाशाखा र बाबुराम सुवेदीलाई आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement