नेपालमा देखिएको डढेलाको प्रकोप १० वर्षयताकै उच्च

नेपालमा देखिएको डढेलाको प्रकोप १० वर्षयताकै उच्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपालमा डढेलोले प्रकोपको रूप लिएका बेला सरकारले फायर फाइटिङ हेलिकप्टर नेपाल ल्याउने प्रक्रिया अगाडि बढाएको छ । डढेलोले दुःख गरेर संरक्षण गरिएको वन क्षेत्र विनाश गर्नुका साथै जनताको ज्यानसमेत लिन थालेकाले फायर फाइटिङ हेलिकप्टर भित्र्याउने प्रक्रिया अगाडि बढाइएको हो ।

फायर फाइटर हेलिकप्टरले डढेलो लागेको स्थानमै पुगेर आकाशमार्ग हुँदै आगो निभाउँछ । नेपाली सेनालाई जिम्मा दिने गरी हेलिकप्टर खरिद गर्ने प्रक्रिया अगाडि बढेको वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जानकारी दिए । नेपालले एन फायर फाइटिङ हेलिकप्टर ल्याउन लागेको बताउँदै उनले भने, “हरेक वर्ष डढेलोले वन विनाश बढाएको हुँदा सरकारले आफैँ हेलिकप्टर किनेर नियन्त्रणको बाटोमा अग्रसर भएको हो ।”

पहिले दुईवटा फायर फाइटिङ हेलिकप्टर ल्याउने विषयमा छलफल भएको थियो तर तत्काल नसकिने भएकाले एउटा हेलिकप्टर ल्याउन लागिएको हो । दुईवटा भएको भए राम्रो हुन्थ्यो तर नहुनुभन्दा एउटा भए पनि हुन्छ भन्नेमा सबै सरकारी निकायको एकमत रहेको अधिकारीहरूले जानकारी दिएका छन् । अत्यधिक बढेको डढेलो मानवीय प्रयासमा मात्र नियन्त्रणमा लिन कठिन भइरहेको छ ।

यस पटक नेपालमा देखिएको डढेलाको प्रकोप विगत १० वर्षयताकै उच्च रहेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस वर्ष एकै दिन झन्डै आठ सयवटा डढेलोका घटना रेकर्ड भएको थियो । जसअनुसार सोमबार ७९८ स्थानमा डढेलो लागेको थियो ।

वि.सं. २०६६ सालमा उच्च प्रकोपका रूपमा नेपालमा यसअघि डढेलो देखिएको थियो । त्यसपछि केही समय मत्थर बनेको थियो । देशव्यापी डढेलोमा परेर ४९ जनाले ज्यान गुमाएका थिए । २०७० सालयता फेरि नेपालमा डढेलो बढ्न थालेको हो । -यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।