यही आर्थिक वर्षभित्रै फाइभजी सेवा सुरु गर्ने सञ्चारमन्त्रीको घोषणा

यही आर्थिक वर्षभित्रै फाइभजी सेवा सुरु गर्ने सञ्चारमन्त्रीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाइने घोषणा गरेका छन्।

उनले चालू वर्ष नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सुधार, गुणस्तरीय र भरपर्दो सेवा, आधुनिक दूरसञ्चार पूर्वाधार, सुदृढ सार्वजनिक सञ्चार प्रणाली तथा परिणाममुखी कार्यसम्पादनमार्फत सञ्चार क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिइएको जानकारी गराएका हुन्।

फेसबुकमार्फत् आफ्नो योजना सार्वजनिक गर्दै मन्त्री तिमल्सिनाले देशव्यापी उच्च गुणस्तरको फोरजी सेवा सुनिश्चित गर्ने दाबी गर्दै चालू वर्ष नेपालमा व्यावसायिक फाइभजी सेवाको सुरुआत गर्ने जिकिर गरेका छन्।

यसका साथै प्रत्येक नागरिकलाई भरपर्दो दूरसञ्चार र इन्टरनेट पहुँच उपलब्ध गराउने, ग्राहक अनुभव र सेवा गुणस्तरमा मापनयोग्य सुधार ल्याउने आश्वासन दिएका छन्।

सञ्चालन घाटाका साथै निरन्तर आम्दानी घट्दै गएको नेपाल टेलिकमको रूपान्तरण र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने वाचा सञ्चारमन्त्री तिमिल्सिनाले गरेका छन्।

चालू वर्ष दूरसञ्चार क्षेत्रको प्रभावकारी नियमन र गुणस्तर अनुगमन सुदृढ गर्ने र परिणाममुखी, उत्तरदायी र सुशासित दूरसञ्चार क्षेत्र निर्माण गर्ने घोषणा पनि गरेका छन्।