काठमाण्डु – पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ । आजको बैठकमा मन्त्रालयको भागबन्डालगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल समूहकाे सहभागिता रहेको छ ।
बैठकमा कांग्रेसबाट प्रधानमन्त्रीसहित बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णवहादुर खड्का, कृष्ण प्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई, नेपाल समूहका डा. विजय पौडेल र जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहेका छन् ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद पुनःस्थापनाको माग गर्दै पाँच दलका १४६ जना सांसदले सर्वोच्च अदालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै हस्ताक्षर बुझाएका थिए ।
अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही बमोजिम राष्ट्रपति भण्डारीले असार २९ गते देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । साथै साउन ३ गते प्रधानमन्त्री देउवालाई गठबन्धनका सांसदहरुले विश्वासको मत दिएका थिए ।




प्रतिक्रिया