‘ग्याङस्टार ब्लुज’का निर्माताले सम्हाले चलचित्र विकास बोर्डको अध्यक्ष पद

‘ग्याङस्टार ब्लुज’का निर्माताले सम्हाले चलचित्र विकास बोर्डको अध्यक्ष पद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले सोमबार पदभार ग्रहण गरेका छन्। उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट नियुक्तिपत्र बुझेपछि चाबहिलस्थित बोर्डको कार्यालय पुगेर कार्यभार सम्हालेका हुन्।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

अध्यक्ष पदका लागि १२ जनाले व्यावसायिक कार्ययोजना प्रस्तुत गरेका थिए। तीमध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पण्डितसहित नरेशकुमार पौडेल र निशा अधिकारीलाई अन्तिम तीन प्रतिस्पर्धीका रूपमा छनोट गरेको थियो। मन्त्रिपरिषद्ले तीन जनामध्ये पण्डितलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

पण्डित चलचित्र निर्माता तथा लेखकसमेत हुन्। उनले सन् २०१७ मा प्रदर्शन भएको हेमराज बीसी निर्देशित चलचित्र ‘ग्याङस्टार ब्लुज’बाट निर्माण क्षेत्रमा प्रवेश गरेका थिए। उक्त चलचित्रमा उनले कार्यकारी निर्माताको भूमिका निर्वाह गरेका थिए।

त्यसपछि उनले चलचित्र विकास बोर्डमा बक्स अफिस कन्सल्टेन्टका रूपमा काम गरेका थिए। करिब आठ वर्षपछि उनी सोही बोर्डमा अध्यक्षका रूपमा फर्किएका छन्। उनी बोर्डका १९औँ अध्यक्ष हुन्। बोर्ड अध्यक्षको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ।

निवर्तमान अध्यक्ष दिनेश डिसीको कार्यकाल सकिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असोज १ गते नयाँ अध्यक्ष नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनमध्ये सर्टलिस्टमा परेका पण्डित, निशा अधिकारी र नरेशकुमार पौडेलको नाम मन्त्रिपरिषद्मा पठाइएको थियो।

पण्डितले अब चलचित्र क्षेत्रको विकास, नेपाली चलचित्रको प्रवर्द्धन तथा बोर्डको संस्थागत कामकारबाहीलाई नेतृत्व गर्नेछन्।