गोरखाको चुमनुब्रीस्थित बूढीगण्डकीमा ठूलो बाढी, त्रिशूली दोभानसम्मै सतर्कता अपनाउन आग्रह

गोरखाको चुमनुब्रीस्थित बूढीगण्डकीमा ठूलो बाढी, त्रिशूली दोभानसम्मै सतर्कता अपनाउन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा- गोरखाको चुमनुब्री गाउँपालिका–६ मा बूढीगण्डकी नदीमा ठूलो बाढी आएको छ। बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान बाढीको जोखिम रहेकाले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

महाशाखाले असोज २५ गते बिहान ६:४० बजे जारी गरेको सूचनाअनुसार चुमनुब्री गाउँपालिका–६ बाट बूढीगण्डकी नदीमा ठूलो बाढी आइरहेको छ।

बाढीको बहाव सुरक्षित रूपमा पास नभएसम्म त्रिशूली दोभानसम्म नदीको छेउछाउ नजान र उच्च स्थानमा बस्न महाशाखाले आग्रह गरेको छ।

स्थानीयका अनुसार बिहान ४:३५ बजेतिर नदीमा ठूलो बाढी आएको हो। नदीमा पानीको बहाव एक्कासि बढ्नुको कारण माथिल्लो क्षेत्रमा खोला थुनिएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, नदी थुनिएको विषयमा आधिकारिक पुष्टि हुन बाँकी छ।

यसअघि बाढीले चुमनुब्री क्षेत्रका जगत र सल्लेरी बजारमा क्षति पुर्‍याएको स्थानीयले बताएका थिए। बाढीको प्रभाव र क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।

बूढीगण्डकी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई नदी किनारबाट टाढा रहन, सुरक्षित अग्लो स्थानमा जान र प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

बाढीको बहाव घटेको आधिकारिक जानकारी नआएसम्म नदी किनारमा नजान र जोखिमपूर्ण स्थानमा नबस्न आवश्यक छ।