नुवाकोट- नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकाका बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरिएको छ।
मंगलबार बिहान बेलकोटगढी नगरपालिका–७, महादेवथानमा आयोजित कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रभावित परिवारलाई घरको चाबी हस्तान्तरण गरे।
दुई कोठा र शौचालयसहितका आवास पाएपछि प्रभावित परिवारले विपत्तिले उजाडिएको जीवनमा नयाँ आशा पलाएको बताएका छन्।
बाढीले घर क्षतिग्रस्त भएपछि सुरक्षित बासको चिन्तामा रहेका परिवारका लागि नयाँ आवास ठूलो राहत बनेको छ।
बेलकोटगढी–७ का ६३ वर्षीय श्रीकृष्ण नेपालले आफ्नो घर बाढीले आधा पुरेको स्मरण गर्दै वाईसीएलले बनाइदिएको घरलाई आफ्नो जीवनको ठूलो सहारा भएको बताए।
‘मेरो घर बाढीले आधा पुर्यो। वाईसीएलले घर बनाइदियो। मेरा लागि यो सिंहदरबार हो,’ उनले भने।
स्थानीय प्रदीप राईले यस वर्षको दसैं वाईसीएलले बनाइदिएको घरमा मनाउन पाउने बताए। आवास निर्माणले आफूहरूलाई बाँच्न र नयाँ जीवन सुरु गर्न प्रेरणा दिएको उनको भनाइ छ। अर्का स्थानीय शम्भु सिग्देलले पनि कठिन समयमा सहयोग गरेर वाईसीएलले गाउँलाई ठूलो गुन लगाएको बताए।

‘भोटेकोशी बाढी विकासको गलत मोडलको असर’
आवास हस्तान्तरण कार्यक्रममा प्रचण्डले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र त्यसले पुर्याएको क्षतिलाई प्राकृतिक विपत्तिमा मात्रै सीमित गरेर हेर्न नहुने बताए। उनले विकसित मुलुकहरूले अपनाएको विकासको गलत मोडल र त्यसबाट उत्पन्न जलवायु परिवर्तनको असर नेपालजस्ता मुलुकले भोग्नुपरेको धारणा राखे।
कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि जलवायु परिवर्तनका कारण उत्पन्न विपत्तिको मार नेपाली नागरिकले खेप्नुपरेको उनले बताए। आफू प्रधानमन्त्री हुँदा संयुक्त राष्ट्रसंघको महासभा तथा महासचिवसँगको भेटमा जलवायु न्यायको विषय उठाएको उनले स्मरण गरे।
प्रचण्डले रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रको भ्रमणका क्रममा प्रभावित परिवारका लागि आवास निर्माण गर्ने घोषणा गरिएको उल्लेख गर्दै निर्माणमा खटिएका वाईसीएलका नेता तथा कार्यकर्तालाई धन्यवाद दिए।
एउटा आवास बनाउन चार लाख
वाईसीएल नेपालका अध्यक्ष पुष्प वलीका अनुसार बाढीपहिरो प्रभावित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले निर्माण अभियान सञ्चालन गरिएको हो।
वाईसीएलका प्रचार विभाग प्रमुख धिरज उपरकोटीले निर्माण गरिएका आवासमा दुई कोठा र शौचालय रहेको तथा एउटा आवास बनाउन अनुमानित चार लाख रुपैयाँ खर्च भएको बताए।
वाईसीएलका उपाध्यक्ष हरि ढकालका अनुसार दाताहरूबाट प्राप्त निर्माण सामग्री र प्राविधिक सहयोगमा आवास निर्माण गरिएको हो। आवास निर्माण, सरसफाइ, उद्धार, राहत तथा पुनर्निर्माणका काममा वाईसीएलका ६ सयभन्दा बढी नेता तथा कार्यकर्ता परिचालित भएका थिए।
राहतदेखि पुनःस्थापना
वाईसीएलले आवास निर्माणसँगै बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार, सरसफाइ र पुनःस्थापनाका कामसमेत सञ्चालन गरेको जनाएको छ।
अध्यक्ष पुष्प वलीद्वारा जारी विज्ञप्तिअनुसार प्रभावित परिवारलाई खाद्यान्न, त्रिपाल, औषधि, लत्ताकपडा, सोलार लाइट तथा मोबाइललगायत अत्यावश्यक सामग्री वितरण गरिएको छ। प्रभावित नागरिकको उपचारमा सहयोग पुर्याउन ११ जनाको सहभागितामा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको छ।
काठमाण्डुमा रहेका प्रभावित परिवारलाई खाद्यान्न, त्रिपाल, लत्ताकपडा, भाँडाकुँडा तथा औषधोपचारमा सहयोग गरिएको र करिब १०० परिवारलाई खाना पकाउने ग्यास तथा खाद्यान्न उपलब्ध गराउने प्रयास गरिएको वाईसीएलले जनाएको छ।
संगठनका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका कामका लागि देशभर १० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ। प्रभावित परिवारलाई राहत उपलब्ध गराउने, सुरक्षित आवास निर्माण गर्ने र उनीहरूलाई सामान्य जनजीवनमा फर्काउन सहयोग गर्ने अभियानलाई निरन्तरता दिने वाईसीएलले जनाएको छ।
आवास पाउनेहरू
वाईसीएलले सार्वजनिक गरेको विवरणमा मोतिराम राई, सुरेन्द्र नेपाल, श्रीकृष्ण नेपाल, गोपी अधिकारी, लोकनाथ नेपाल, रमेश राई, प्रदीप राई, मीना राई, सोमप्रसाद राई, शिवराम नेपाल, हरिहर नेपाल, रामकुमार मगर, नरेश नेपाल, सरिता नेपाल, मुक्तिराम नेपाल, कोमलप्रसाद नेपाल, टीकाराम नेपाल, लालप्रसाद नेपाल, डण्डपानी घिमिरे र बुद्धलाल चित्रकारको नाम उल्लेख छ।
तर वाईसीएलले २१ वटा आवास हस्तान्तरण गरेको जनाएको भए पनि उपलब्ध सूचीमा २० परिवारको नाम मात्रै छ। २१औँ परिवारको नाम खुल्न बाँकी छ।



प्रतिक्रिया