नेतन्याहूको दाबी : कट्टरपन्थी विचारबाट प्रभावित को-पाइलटले फ्लाईदुबईको विमान दुर्घटना गराउन खोजेका थिए

नेतन्याहूको दाबी : कट्टरपन्थी विचारबाट प्रभावित को-पाइलटले फ्लाईदुबईको विमान दुर्घटना गराउन खोजेका थिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले केही दिनअघि फ्लाईदुबईको विमानभित्र पाइलटलाई चक्कु प्रहार गरेको आरोप लागेका ओमानी को-पाइलट इस्लामिक कट्टरपन्थी विचारधाराबाट प्रभावित रहेको दाबी गरेका छन्।

अमेरिकी च्यानल फक्स न्युजसँग कुरा गर्दै नेतन्याहूले अनुसन्धानबाट आरोपीमा यहूदीविरोधी र कट्टरपन्थी विचारधाराको प्रभाव देखिएको बताएका छन्।

आरोपी ती को-पाइलटले विमान नियन्त्रणमा लिएर दुर्घटना गराउने प्रयास गरेको हुनसक्ने देखिएको दाबी उनले गरेका छन् ।

पक्राउ परेपछि आरोपीले को-पाइलटले चालक दलका सदस्यहरूसँग पटकपटक आफूलाई मारिदिन आग्रह गरेका पनि नेतन्याहूले दाबी गरेका छन्। यसबाट उनले आत्महत्या गर्न खोजेको हुनसक्ने आशंका गरिएको नेतन्याहूले बताएका छन्।

इजरायली सञ्चारमाध्यमका अनुसार आरोपीसँग काम गरेका एक सहकर्मीले उनी महिलासँग हात नमिलाउने र दिनमा धेरैपटक नमाज पढ्ने गरेको बताएका छन्। यद्यपि, उनको व्यवहार र घटनाबीचको सम्बन्धबारे अनुसन्धान जारी छ।

ककपिटमै चक्कु प्रहार

घटनामा ओमानी को-पाइलटले ककपिटभित्र भारतीय क्याप्टेन स्मित मच्छरमाथि चक्कु प्रहार गरेको आरोप छ। त्यसक्रममा विमान केही मिनेटमै हजारौँ फिट तल झरेको बताइएको छ।

गम्भीर घाइते भएका क्याप्टेन मच्छरले ककपिटको ढोका खोल्न सफल भएपछि यात्रु र चालक दलका सदस्यहरूले को-पाइलटलाई नियन्त्रणमा लिएका थिए।

त्यसपछि अन्य पाइलटले विमान सम्हाल्दै साउदी अरबको तबुकमा आपत्कालीन अवतरण गराए। घाइते क्याप्टेनलाई विमान अवतरणपछि उपचारका लागि अस्पताल लगिएको थियो। घटनाको वास्तविक कारण र आरोपीको उद्देश्यबारे अनुसन्धान जारी छ।

ककपिटमा चक्कु कसरी पुग्यो?

घटनापछि विमानको ककपिटमा आक्रमणमा प्रयोग भएको चक्कु कसरी पुग्यो भन्ने प्रश्न पनि उठेको छ।

इजरायली अधिकारीहरूलाई उक्त वस्तु ककपिटमा राखिने आपत्कालीन उपकरणमध्ये कुनै एक थियो कि थिएन भन्ने प्रश्न गरिएको थियो। तर अधिकारीले यसबारे आफूलाई जानकारी नभएको बताएका छन्।

आरोपी को-पाइलटको सुरक्षा जाँचमा कुनै कमजोरी भएको थियो कि थिएन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

ती को-पाइलटले नौ महिनाअघि मात्रै फ्लाईदुबईमा काम थालेका खुलेको छ।

रिपोर्टअनुसार उनले करिब नौ महिनाअघि मात्रै फ्लाईदुबईमा पाइलटका रूपमा काम सुरु गरेका थिए। ओमानका एक अधिकारीले अमेरिकी समाचार संस्था सीबीएससँग यसबारे पुष्टि गरेका हुन्। आरोपी को-पाइलटको नाम अझैसम्म सार्वजनिक गरिएको छैन।

इजरायल र ओमानबीच औपचारिक कूटनीतिक सम्बन्ध नभएकाले ओमानी नागरिकलाई इजरायल जाने उडानमा पाइलटका रूपमा कसरी खटाइयो भन्नेसमेत अहिले अनुसन्धानको दायरामा आएको छ।

इजरायलको सुरक्षा प्रणालीमाथि प्रश्न

घटनापछि इजरायलको विमान सुरक्षा प्रणालीमाथि पनि प्रश्न उठेको छ।

इजरायली च्यानल १२ को रिपोर्टअनुसार यसअघि पनि केही ओमानी पाइलट तेलअभिभ पुगेका थिए। रिपोर्टमा इजरायलले विदेशी एयरलाइन्सलाई आफ्ना पाइलटको सुरक्षा जाँचको जिम्मेवारी दिएको उल्लेख छ।

रिपोर्टअनुसार इजरायलको आन्तरिक सुरक्षा निकाय शिन बेटले फ्लाईदुबईका पाइलटको पृष्ठभूमि जाँच नगरेको दाबी गरिएको छ। शिन बेटले प्रतिबन्धित देशका पाइलटलाई इजरायल जाने उडानमा नखटाउन फ्लाईदुबईलाई आग्रह गरेको पनि रिपोर्टमा उल्लेख छ।

घटनापछि इजरायलको यातायात मन्त्रालयले विमान सुरक्षा प्रक्रिया र इजरायल आउने उडानका पाइलटको निगरानी प्रणालीको समीक्षा गर्ने तयारी गरेको बताइएको छ।

यूएईको जिम्मामा

विमान तबुकमा आपत्कालीन अवतरण गरेपछि साउदी अधिकारीहरूले आरोपीलाई नियन्त्रणमा लिएर प्रारम्भिक सोधपुछ गरेका थिए। त्यसपछि उनलाई संयुक्त अरब इमिरेट्स (यूएई) का अधिकारीको जिम्मा लगाइएको छ।

साउदी अरबको गृह मन्त्रालयका अनुसार प्रारम्भिक अनुसन्धानमा उडानका क्रममा सह-पाइलटले क्याप्टेनमाथि आक्रमण गरेको पुष्टि भएको छ। घटनामा दुवै पाइलट घाइते भएका थिए।

अब यूएईका न्यायिक निकायले ककपिटभित्र झडप कसरी सुरु भयो, सह-पाइलटले विमानको नियन्त्रण लिन खोजेका थिए कि थिएनन् र विमानलाई जानाजान दुर्घटनामा पार्ने प्रयास भएको थियो कि थिएन भन्ने विषयमा अनुसन्धान गर्नेछन्।

साथै घटना आतंकवादसँग सम्बन्धित थियो वा पूर्वयोजनाअनुसार गरिएको थियो भन्नेबारे पनि अनुसन्धान भइरहेको छ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले यस घटनालाई ‘जिहादी आतंकवादी हमला’ भनेका छन्। तर घटनाको अन्तिम कारण र उद्देश्यबारे सम्बन्धित निकायको अनुसन्धानबाट थप तथ्य आउन बाँकी छ।