काठमाण्डु – नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा सदस्य राजीव खत्रीले पत्रकारिता क्षेत्र र महासंघलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार जारी गरेको विज्ञप्तिमा सांसद खत्रीले प्रतिनिधि सभाको बैठकमा प्रेस काउन्सिललाई धम्क्याउने व्यक्तिलाई लक्षित गर्दै ‘पत्रकार हुन् कि गुण्डा’ भन्दै प्रश्न गरेको तथा पत्रकारका नाममा कसैलाई पनि ‘असनको साँढे’ बन्ने छुट नभएको अभिव्यक्ति दिएको उल्लेख छ ।
महासंघले सांसद खत्रीको अभिव्यक्तिले समग्र पत्रकारिता क्षेत्रको अपमान भएको जनाएको छ । महासंघले सांसद खत्रीलाई आफ्नो अभिव्यक्तिप्रति क्षमायाचना गर्न आग्रह गर्दै विवादित भनाइ प्रतिनिधिसभा बैठकको अभिलेखबाट हटाउन सभामुखसमक्ष माग गरेको छ ।
महासंघले संवैधानिक अधिकारको सम्मान गर्दै प्रेस तथा पत्रकारिताप्रति जिम्मेवार व्यवहार गर्नसमेत सांसद खत्रीलाई आग्रह गरेको छ ।
प्रेसविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने तथा पत्रकार र प्रेस जगतलाई धम्क्याउने गतिविधिमा संलग्न सांसदलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसँग माग गरिएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।





प्रतिक्रिया