दशैं भनेर हरेक छाक मासु मात्रै नखानू, यी हुन् शाकाहारी परिकारका फाइदा


काठमाण्डु – दशैँ आयो, खाउला पिउला… भनेर बालबालिका बढी रमाउने गर्छन । दशैँमा विभिन्न किसिमका परिकारहरू घरपरिवार, आफन्त तथा साथीसँग बसेर खाने चलन छ । पर्वअनुसार खानेकुरा पनि नेपाली सँस्कृतिमा आफ्नै प्रचलन छ ।

तिहारमा सेलरोटी, संक्रान्तिमा तरुल, असार १५ मा दही चिउरा, साउन १५ मा खीर, जनैपूर्णिमामा क्वाँटी खाइन्छ । यसैगरी दसैंमा विभिन्न परिकार पकाइए पनि मासुलाई मुख्य मानिन्छ । वा भनौ दसैंलाई मासुको पर्व पनि भन्ने गरिन्छ । मासु नखाए त के दसैं भनेर भन्ने गरेको पनि सुनिन्छ, तर दसैंमा साकाहार भोजनको पनि आफ्नै महत्व छ ।

शाकाहारीहरूले मिठो खाएर दसैं मनाउने गरेका छन् । दशैँमा शाकाहारी परिकारमा पनिर, मसरुम, अचार, पकौडा, फ्रेन्च फ्राइ, सोयाबिन साँधेको, गेडागुडी, भेज चाउमीन र विभिन्न थरिका मिठाइका परिकार खाएर दसैं मान्ने गरेका छन् ।

यसरी सेवन गरिने शाकाहारी भोजन स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको पोषणविद् अरुणा उप्रेतीको भनाइ छ । मासु पकाउँदा दाल किन चाहियो वा अरु तरकारी किन चाहियो भनेर मासु मात्रै खाने गरिन्छ । मासुको तुलनामा शाकाहारी भोजन निकै सन्तुलित हुने उप्रेतीको तर्क छ ।

शाकाहारी हुँदा शरीर कमजोर हुने, शरीरमा आवश्यक प्रोटिन, खनिज पदार्थ कम हुन्छ भन्ने सोच गलत रहेको उनी बताउँछिन् । शरीरलाई आवश्यक मात्रामा प्रोटिन, क्याल्सियम, मिनरल, आइरनको मात्रा मिलाउन सकियो भने शाकाहारी बन्नु स्वास्थ्यको लागि निकै फाइदाजनक छ । शाकाहारी भोजनले शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि तन्दुरुस्त राख्छ ।

शाकाहारी भोजनमा रेसादार तथा हरियो सागसब्जी हुने हुँदा यसले कब्जियतबाट मुक्त गराउनुका साथै शरीरलाई अति आवश्यक सुक्ष्म पोषणतत्व, क्याल्सियम, प्रोटिन प्रशस्त उपलब्ध गराउँछ । शाकाहारी परिकारमा हरियो सागपात, सलाद आदिको प्रयोगले स्वास्थ्यमा लाभ पुर्‍याउँछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement