धनगढी: मेयर कप फुटबलमा दुइटा टीम विजयी


कैलाली—धनगढी उपमहानगरपालिकाको आयोजनामा वडा नम्बर १२ मा जारी मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत मंगलबारका खेलमा वडा नम्बर ७ र वडा नम्बर ८ विजयी भएका छन् ।

मनकामना युवा क्लबको मैदानमा भएको पहिलो खेलमा वडा नम्बर ७ विजयी भएको छ । वडा नम्बर ७ ले वडा नम्बर ५ लाई १–० ले हराएको हो । आफ्नो वडालाई जिताउन वडा नम्बर ७ का लागि रंगुल चौधरीले एक मात्रै निर्णायक गोल गरे । वडा नम्बर ५ का गोलरक्षक लोकेश चौधरीले फल गरेपछि पाईएको पेनाल्टी मार्फत रंगुलले गोल गरेका हुन् ।

मंगलबार भएको दोस्रो खेलमा वडा नम्बर ८ विजयी भएको छ । वडा नम्बर १० लाई वडा नम्बर ८ ले ७–१ को फराकिलो अन्तरले हराएको हो । वडा नम्बर ८ लाई जिताउन अजय चन्दले ३ गोल गरे । यसैगरी अभय चन्द गौरव चौधरी र वमबहादुर चौधरीले एक एक गोल गरे । वडा नम्बर १० का शिवकुमार रानाले आत्मघाती गरे । वडा नम्बर १० का लागि संजिव रानाले एक गोल फर्काए ।

नकआउट आधारमा सञ्चालन भईरहेको प्रतियोगिता अन्तर्गत वुधबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा वडा नम्बर १८ र वडा नम्बर १९ तथा दोस्रो खेलमा वडा नम्बर ४ र वडा नम्बर १२ प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेतालाई एक लाख एक हजार र उपविजेतालाई ५१ हजार नगद पुरस्कार दिईनेछ । प्रतियोगिता सञ्चालनका लागि कैलाली जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको छ । वडाका खेलाडीहरुलाई छनोट गरेर उपमहानगरपालिकाको टीम समेत बनाईने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement