फूटबलको एसियाली छनोटमा नेपालले असोज २५ गते लाओससँग प्रतिस्पर्धा गर्ने


काठमाण्डु – विश्वकप फूटबल २०२६ अन्तर्गत एसिया क्षेत्र तर्फको पहिलो चरणको छनोट खेलमा नेपालले आगामी असोज २५ गते लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

अखिल नेपाल फूटबल संघ एन्फाले शुक्रबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै एसिया क्षेत्र तर्फको पहिलो चरणको छनोट खेल असोज २५ नेपाल र लाओसबीच दशरथ रंगशालामा हुने जानकारी दिएको छ ।

फिफा वरियतामा लाओस १८६ औं स्थानमा रहेको छ भने नेपाल १७५ औं स्थानमा छ ।

खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको मुख्य प्रशिक्षणमा २५ सदस्यीय टोली बन्द प्रशिक्षणमा रहेको छ । खेलका लागि लाओसको टोली असोज २२ गते नेपाल आउने र प्रशिक्षणका लागि च्यासल रंगशालामा आवश्यक व्यवस्था गरिएको एन्फा प्रवक्ता सुरेश शाहले बताए ।

खेलको सम्पूर्ण तयारी अघि बढाइसकिएको र टिकट दर साधारण पारापिटतर्फ ३०० र भीआईपी पारापिटतर्फ ५०० रुपैयाँ तोकिएको उनले जानकारी दिए ।

प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४०० रुपैयाँ रहेको एन्फाले जनाएको छ । लाओससँगको खेलमा विजयी भएमा नेपाल दोस्रो चरणमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement