राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिने अलमुताइरीको घोषणा


काठमाण्डु – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको कारण आफुले पदबाट राजीनामा दिन लागेको बताएका छन् । उनले यसबारेमा आइतबार  सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

उनले पछिल्लो ३ हप्तादेखि वरिष्ठ उपाध्यक्ष नेम्वाङले समस्या उत्पन्न गराईरहेको उल्लेख गरेका छन् । ‘प्रिय नेपाली फ्यान … म राजीनामा दिन एन्फा जाँदैछु । वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको कारणले गर्दा म राजीनामा दिँदैछु । उनले पछिल्लो ३ हप्तादेखि समस्या उत्पन्न गराईरहेका छन् ’ उनले लेखेका छन् ।

कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पदक सम्हालेका थिए । उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्व कप र एसिया कपका ३ गरि कुल ४ खेल खेलेको थियो ।

एन्फाले उनको सम्झौता अवधि थप्नका लागि कतार फुटबल संघलाई पत्रचार गरिरहेकै अवस्थामा अलमुताइरीले राजीनाको घोषणा गरेका हुन् । दुई दिन अघि मात्र प्रशिक्षकको सम्झौता थप्ने विषयमा आफूलाई जानकारी नभएको भन्दै एन्फा उपाध्यक्ष समेत रहेका कृष्णबहादुर थापाले टेक्निकल कमिटीबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement