फिफा विश्वकप फाइनल : स्पेन-अर्जेन्टिना भिडन्तअघि जान्नुपर्ने तथ्य

फिफा विश्वकप फाइनल : स्पेन-अर्जेन्टिना भिडन्तअघि जान्नुपर्ने तथ्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साबिक विजेता अर्जेन्टिना र चुनौतीकर्ता स्पेन सोमबार राति फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा आमनेसामने हुँदैछन् । ३९ दिनसम्म चलेको विश्व फुटबलको महाउत्सव न्यू जर्सीमा हुने फाइनलसँगै समापन हुनेछ ।

यो फाइनल प्रतियोगिताको उत्कृष्ट आक्रमण र उत्कृष्ट रक्षाबीचको प्रतिस्पर्धा पनि हुनेछ । अर्जेन्टिनाले प्रतियोगितामा सर्वाधिक १९ गोल गरेको छ भने स्पेनले सबैभन्दा कम केवल एक गोल मात्र व्यहोरेको छ ।

विश्वकपको इतिहासमा दक्षिण अमेरिकी र युरोपेली च्याम्पियनबीचको फाइनल ६० वर्षपछि पहिलो पटक हुँदैछ । यस फाइनलको अर्को विशेषता पुस्तान्तरणको प्रतीक मानिएको प्रतिस्पर्धा हो । स्पेनका १९ वर्षीय उदाउँदा स्टार लामिन यामाल आफ्नो बाल्यकालका आदर्श तथा अर्जेन्टिनाका ३९ वर्षीय कप्तान लियोनेल मेस्सीविरुद्ध मैदानमा उत्रिनेछन् ।

स्पेन-अर्जेन्टिना : कसको सम्भावना बलियो ?

अप्टा सुपरकम्प्युटरका अनुसार स्पेनले विश्वकप जित्ने सम्भावना ५९.४६ प्रतिशत रहेको छ । अर्जेन्टिनाले सन् २०२२ मा जितेको उपाधि जोगाउने सम्भावना ४०.५४ प्रतिशत आँकिएको छ ।

विश्वकपको फाइनल अमेरिकाको मेटलाइफ स्टेडियममा हुँदैछ । न्यूयोर्क जायन्ट्स र न्यूयोर्क जेट्स (एनएफएल) को घरेलु मैदानका रूपमा परिचित यो रंगशालालाई विश्वकपका लागि अस्थायी रूपमा न्यूयोर्क–न्यू जर्सी स्टेडियम नाम दिइएको छ ।

सन् २०१० मा निर्माण भएको यो बहुउद्देश्यीय रंगशालामा फुटबल खेलका लागि करिब ८२,५०० दर्शक अट्न सक्छन् । यही मैदानले सन् २०२५ को फिफा क्लब विश्वकपका दुवै सेमिफाइनल र फाइनल पनि आयोजना गरेको थियो ।

विश्वकपमा यी दुई देशबीच एकपटक मात्र भेट भएको हो । दुवै टोली सन् १९६६ को इंग्ल्यान्ड विश्वकपको समूह चरणमा भिडेका थिए, जहाँ अर्जेन्टिनाले स्पेनलाई २–१ ले पराजित गरेको थियो । त्यस विश्वकपमा स्पेन समूह चरणबाटै बाहिरिएको थियो भने अर्जेन्टिना क्वार्टरफाइनलसम्म पुगेको थियो ।

उपाधिको इतिहास

स्पेनले सन् २०१० मा एकपटक विश्वकप जितेको छ । अर्जेन्टिना भने १९७८, १९८६ र २०२२ गरी तीन पटक विश्व विजेता बनिसकेको छ ।

महादेशीय प्रतियोगितामा स्पेन चार पटक (१९६४, २००८, २०१२ र २०२४) युरोपियन च्याम्पियन बनेको छ भने अर्जेन्टिना १६ पटक कोपा अमेरिका जित्ने सबैभन्दा सफल टोली हो । उसले पछिल्लो पटक २०२४ मा उपाधि जितेको थियो ।
स्पेनका मुख्य खेलाडी

मिकेल ओयार्जाबाल पाँच गोलसहित स्पेनका सर्वाधिक गोलकर्ता हुन् । उनले फ्रान्सविरुद्धको सेमिफाइनलमा पनि गोल गरेका थिए ।

मिडफिल्डर रोड्रीले प्रतियोगितामा सर्वाधिक ६४८ सफल पास पूरा गर्दै टोलीको खेल नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । चोटबाट फर्किएका किशोर स्टार लामिन यामालले अपेक्षाअनुसार उत्कृष्ट प्रदर्शन गर्न नसके पनि दायाँ विंगबाट जुनसुकै बेला खेलको दिशा बदल्न सक्ने क्षमता राख्छन् ।

अर्जेन्टिनाका मुख्य खेलाडी

लियोनेल मेस्सी अर्जेन्टिनाको सबैभन्दा ठूलो आशा हुन् । उनले प्रतियोगितामा आठ गोल र चार असिस्ट गरेका छन्, जसका कारण उनी गोल्डेन बुट जित्ने प्रमुख दाबेदार पनि बनेका छन् ।

मेस्सीले अन्तिम १६ सम्म प्रत्येक खेलमा गोल गरेका थिए भने क्वार्टरफाइनल र सेमिफाइनलमा उनको असिस्ट निर्णायक साबित भएको थियो ।

लाउटारो मार्टिनेज (तीन गोल) र एन्जो फर्नान्डेज (दुई गोल) ले पनि अर्जेन्टिनाको आक्रमणलाई प्रभावशाली बनाएका छन् ।

स्पेनका मुख्य प्रशिक्षक लुइस दे ला फुएन्ट स्पेन र अर्जेन्टिना दुवैले आफ्नो प्रतिभा र उत्कृष्ट फुटबललाई केन्द्रमा राखेर खेल्ने बताउँछन् ।

उता स्पेनका कप्तान रोड्री भन्छन् ‘विश्वकपको फाइनलसम्म पुग्नु हाम्रो यात्राको अर्को उपलब्धि हो । तर हाम्रो लक्ष्य यतिमै सीमित छैन ।’

यस्तै अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सीको प्रशंसा गर्दै भने, ‘उहाँ फुटबल इतिहासकै महान् खेलाडी हुनुहुन्छ । ३९ वर्षको उमेरमा पनि टोलीलाई विश्वकप फाइनलसम्म पुर्‍याउनु अविश्वसनीय उपलब्धि हो ।’

फाइनल बराबरीमा सकिए के हुन्छ ?

निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएमा १५–१५ मिनेटका दुई अतिरिक्त समय खेलाइनेछ । त्यसपछि पनि नतिजा नआए विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइनेछ ।